• मंसिर १३ २०८१, बिहीबार

भारतका उद्योगपति रतन टाटाको निधन

आश्विन २४ २०८१, बिहीबार

काठमाडौं । भारतका सुप्रशिद्ध उद्योगपति रतन टाटाको बुधबार राति निधन भएको छ । उनको गएराति मुम्बईस्थित एक अस्पतालमा निधन भएको टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरनले विज्ञप्तिमार्फत् बताएका हुन् ।

उनी लामो समयदेखि अल्जाइमर्सको समस्या बेहोर्दै आएका थिए । २८ डिसेम्बर १९३७ मा जन्मिएका टाटाको ८६ वर्षको उमेरमा निधन भएको हो । भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

राष्ट्रपति मुर्मुले टाटाको निधनबाट भारतले देशको निर्माणको आइकन गुमाएको बताएकी छन् । यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई असाधारण व्यक्तित्वको संज्ञा दिएका छन् । ‘रतन टाटाजी दूरदर्शी, दयालु र एक असाधारण मानव थिए ।

उनले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापार घरानालाई लामो समय नेतृत्व प्रदान गरे,’ मोदीले भनेका छन् । दिवंगत टाटालाई भारत सरकारले पद्म विभूषणबाट सम्मानित गरेको थियो ।