२२ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।
उनले भने, ‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ। अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ ।’मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।
खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेको त्यहाँ संघर्ष समितिसँग वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ । वर्षा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड रुपैयाँ लिटर पानी वितरण गर्दै आएको थियो ।
विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ । दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७÷१७ करोड लिटर पानी ल्याइनेछ। तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन ।
मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमीमध्ये करिब ७ सय किमि पाइप बिच्छ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ । आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।