असोज २२, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् ।
बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा मंगलबार बिहान सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अतिभारी वर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागिरहेको बताए ।
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । मन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउनसमेत आग्रह गरे ।