२२ असोज, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनास्थलका स्थानीयसँगको १० बुँदे सहमतिपछि आजदेखि काठमाडौँमा मेलम्चीको पानी छोडिने भएको छ ।
सोमबार बेलुका हेलम्बु पुगेका खानेपानी मन्त्री प्रदीप यादवले आन्दोलनमा उत्रेका स्थानीय ठेकेदार र स्थानीयहरूसँग सहमतिमा हस्ताक्षर गरेका थिए ।
दसैँको समय भएको र स्थानीयसँग सहमति भएकाले मेलम्चीको पानी आजदेखि काठमाडौँ आउने मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए ।
आज २ बजे सुन्दरीजलबाट खानेपानी मन्त्री प्रदीप यादवले ‘स्विच अन’ गरेर पानी छाड्ने तयारी गरिएको छ । दैनिक १७ करोड लिटर छाडिने तयारी सरकारले गरेको छ ।
११ असारदेखि मेलम्ची पानी काठमाडौँ पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो । असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो ।