तेहरान । इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमाण्डरलाई सम्मानित गरेको छ ।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको वेबसाइटका अनुसार सर्वोच्च नेताले रिभोल्युसनरी गाड्र्सका ‘एयरोस्पेस कमान्डर’लाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि विभूषित गरेका छन् ।
‘अयातुल्लाह खामेनीले गाड्र्स एरोस्पेस फोर्सका कमान्डर जनरल अमिराली हाजिजादेहलाई अर्डर अफ फाथ अर्थात् ‘विजयको लागि सम्मान’द्वारा विभूषित गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ ।
वेबसाइटमा जनाइए अनुसार यो विभूषण ‘ईमान्दारिता र राष्ट्रिय गौरब’ का क्षेत्रमा योगदान पु¥याएबापत प्रदान गरिएको हो ।
६२ वर्षीय हाजिजादेहले सन् २००९ मा स्थापना भएदेखि इरानी सेनाको एयरोस्पेस युनिटको नेतृत्व गर्दै आउएका छन् ।
इजरायली हवाई हमलामा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र आईआरजीसीका शीर्ष जनरल अब्बास निलफरहानको मृत्यु भएको बदलामा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले गत मङ्गलबार इजरायलमाथि करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो ।
गत अप्रिलमा दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा भएको घातक आक्रमणको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि इरानले छ महिनायता इजरायलमाथि गरेको यो दोस्रो प्रत्यक्ष आक्रमण थियोे ।
इरानले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको छिट्टै उचित जवाफ दिने इजरायलले बताएको छ । इरानमाथि प्रतिहमला गरेमा आफ्नो चुनावी यात्रामा धक्का लाग्ने भन्दै अमेरिकी बाइडेन सरकारले इजरेललाई इरानमाथि हमला नगर्न चेतावनी दिएको छ । यदि इजरेलले इरानमाथि थप हमला गरेमा मध्यपूर्वमा थप युद्ध चर्किनेछ ।