• आश्विन २० २०८१, आईतवार

मनसुन बहिर्गमन भारतीय नक्साबाट नेपालमा दुविधा

आश्विन २० २०८१, आईतवार

२० असोज, काठमाडौं । वर्षा गराउने मनसुनी प्रणाली नेपालमा कमजोर हुँदै गएको छ । त्यसैले अब विगतको जस्तो ठूलो वर्षा नहुने मौसमविद्को भनाइ छ । सुदूरपश्चिम प्रदेशबाट त केही दिनमै मनसुन बाहिरिनसक्ने सम्भावना छ । तर देशभरबाट पूर्णरुपमा मनसुन बाहिरिने सम्भावना भने तत्काल छैन । ‘अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम र कर्णालीका हिमाली र पहाडी जिल्लामा मौसम सफा छ ।

धेरैले धान काट्ने, भित्राउने गर्न थाल्यौं भन्नुभएको छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘हाम्रो सिस्टमले पनि सुदूरपश्चिम र कर्णालीमा छिट्टै मनसुन बाहिरिने सम्भावना रहेको देखाउँछ ।’ पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ । पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्याे भने मनसुन बाहिरिएको भनिन्छ । सुदूरपश्चिम र कर्णालीमा मनसुनी वायु कमजोर भए पनि अन्य प्रदेशमा मनसुनी वायुलाई धकेल्न सकेको देखिँदैन ।

त्यसैले लुम्बिनीदेखि पश्चिमतिर मनसुनको प्रभाव कायमै देखिन्छ । गत २४ घण्टामा लुम्बिनीको दाङ घोराही र कोशी प्रदेशको झापा दमकमा भारी वर्षा पनि भएको छ । काठमाडौंको बुढानीलकण्ठमा मध्यम खालको वर्षा भएको छ । हल्का खालको वर्षा त लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका धेरै जिल्लामा भएको छ । यी प्रदेशहरुमा लगभग यस्तै अवस्था आज पनि रहने पूर्वानुमान छ ।

मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । भारतको मौसम विज्ञान विभागले सेप्टेम्बर २३ तारिक (असोज ७ गते) देखि नै भारतका विभिन्न स्थानबाट मनसुन बहिर्गमन सुरु भइसकेको जनाएको छ । उसले जारी गरेको अद्यावधिक नक्सामा अरब सागरको केही भाग र मध्य प्रदेशका केही भागबाट मनसुन बाहिरिएको देखिन्छ । यसक्रममा उत्तरप्रदेशका केही भाग, पन्जाब, हरियाणा जम्मुकाश्मिर, हिमाञ्चल र उत्तराखण्डका केही भागबाट मनसुन बाहिरिसकेको छ ।

भारतको मौसम विभागले सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको सुदूरपश्चिमका केही भागबाट पनि मनसुन बाहिरिएको देखाइएको छ । तर नेपालका मौसमविद्हरु भने यो कुरामा सहमत छैनन् । नेपालको जल तथा मौसम विज्ञान विभागका मौसमविदले नेपालमा मनसुन कायमै रहेको जानकारी भारतीय मौसमविद्हरुलाई गराएका छन् । मौसमविद् प्रतिभा मानन्धरले भनिन, ‘भारतको मौसम विज्ञान विभागले नक्सामा देखाएको जस्तो नेपालबाट मनसुन बाहिरिन अझै सुरु भएको छैन ।

यसबारेमा हामीले भारतीय मौसमविद्हरुलाई भनिसकेका पनि छौं ।’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि नेपालको भूभागबाट मनसुन बाहिरिएको देखिने भारतको नक्सामा असहमति जनाएका छन् । उनका अनुसार नेपालको पश्चिमी भूभागमा पूर्वी हावा कायमै छ । मनसुन दशैंभरि रहने भएकाले बेला(बेला हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहने उनको भनाइ छ ।