• आश्विन २० २०८१, आईतवार

भैंसेपाटी घटना : हनिट्रयापमा संलग्न आरोपमा थप १ जना महिला पक्राउ

आश्विन २० २०८१, आईतवार

२० असोज, काठमाडौँ । ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा छिन् ।

उनलाई इटहरीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा यसअघि सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम पक्राउ परेका थिए ।

घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरू विरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । ललितपुरको साना गाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेका छन् ।

दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् ।

डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समितिको सिफारिसको आधारमा इन्स्पेक्टर शाहीलाई निलम्बन गरिएको छ । शुक्रवार साँझ गृहसचिव गोकर्णमणि दुवाडीले शाहीलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।

धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् ।

उजुरी परेपछि बोलाएर छलफल गराएको इन्स्पेक्टर शाहीको भनाई छ । अनुसन्धान अधिकृतहरुसँग शाहीले भनेकी छन्, ‘हामी कहाँबाट दुवै पक्ष मिलापत्र गरेर बाहिरिएका थिए, लेनदेनको कुरा थाहा भएन ।’