• आश्विन २० २०८१, आईतवार

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव

आश्विन २० २०८१, आईतवार

असोज २०,काठमाडौं । काठमाडौं उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।

चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ ।

हरेक वर्ष दसैँमा काठमाडौं उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् ।

काठमाडौं उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो सात सय २० देखि सात सय ५५, पहाडका खसी छ सय ७० देखि सात सय पाँच, बोका छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो एक हजार तीन सयमा बिक्री भइरहेका छन् । काठमाडौं उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए ।

सिङमा हरियो रङ छिटेको हेर्नुस

यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ ।

टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहनुभएका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले भने, ‘स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।’ विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाए ।