माथिल्लो मुस्ताङको एक गाउँ ।
थानजुङमा आएर बसोबास गर्नुअघि हामी धे गाउँमा थियौं । करिब १५ वर्ष भयो हामी यो खोलाको किनारमा आएर बसेको । माथिको गाउँमा पानीको मुहान जति सुके । खेतीपाती भएन । गहुँ र जौ उत्पादन हुने ठाउँ बाझै भयो । गोरु, गाई र बाख्रालाई दिने पानी पनि भएन । केही उपाय नलागेपछि म पोखरा गएर बसें । त्यतिबेला ३० वर्षको थिएँ । पोखरा गएर बस्न मुस्किल भयो । त्यहाँ दुई वर्ष बसेपछि आर्थिक अभावले म नेपाली भएर पनि तिब्बती शरणार्थी शिविरमा गएर बसें । कमाइ राम्रो थिएन ।
बालबच्चाको पढाइ खर्च जुटाउन मुस्किल भयो । शिविरमा गएपछि खर्च अलि कम भयो । त्यहाँ १४ वर्ष जडीबुटी बिक्री गरेर घर खर्च चलाए । केही उपाय नलागेपछि फेरि पुख्र्यौली गाउँमै फर्किए । सिंचाइ सुविधा नभएकाले गाउँमा बस्न सम्भव भएन । हिउँ पर्न छाडेपछि पानीका मुहान पनि सुकिसकेका थिए । सबै खेती गर्ने जमिन बाँझो भयो । यस्तोमा कसरी बाँच्ने र त्यतिबेला म गाउँको सबैभन्दा धनी थिएँ । मेरो गाउँमा त्यतिको जमिन पोखरा वा अरू ठाउँमा भएको भए त खर्बपति नभए पनि अर्बपति त हुन्थें होला १ पानी नभएपछि मेरो जग्गाको केही भाउ भएन । बिक्री गर्न खोजें तर कोही गाउँले किन्न तयार भएनन् ।
बरु उनीहरू पनि एकपछि अर्को गरेर गाउँ छाडेर अरू ठाउँमा बसाइँ सर्न थाले । सबै गाउँ छोडेर हिंड्ने तरखरमा थिए । त्यतिकैमा मेरो घर पनि भत्कियो । पछि मैले घरको झ्याल र ढोका मात्र बेच्न सकें । अरू केही काम लागेन । मेरी श्रीमतीले त्यही घरमा मेरा आठ जना बच्चालाई जन्म दिएकी थिइन् । तीमध्ये चार जना बच्चा बिते । जे भए पनि जन्मेको घरको त माया लाग्छ नि १ मेरो नाभि पनि त्यही घरमा गाडिएको थियो । तर के गर्नु जति माया लागे पनि म त्यहाँ बस्न सकिनँ ।
बालीनाली हुन छाडेपछि हामी बस्न सक्ने अवस्था पनि भएन । त्यतिबेला हामी सिधै मूलको पानी लिएर खान्थ्यौं । तर हेर्दाहेर्दै पानीका मुहान सुके । म पोखरा बसिरहेको बेला मेरो एक जना बहिनी भारतको सिमलामा पढिरहेकी थिइन् । पछि नेपाल आएर पढिरहेको बेला एक जना विदेशीलाई यहाँको बारेमा भनिछिन् ।
छिरिङ लाम्के गुरुङ,
विदेशीले बहिनीलाई अमेरिका जाने सल्लाह दिएका थिए तर पनि उनी यहीं बसिन् । तर पैसाका लागि विदेश जान मानिनन् बरु दुःखमा परेको गाउँको लागि केही गर्ने बताएपछि विदेशीले पनि सहयोग गरे । मैले हामी अहिले बसेको ठाउँमा बस्ती बसाल्ने प्रस्ताव गरेको थिएँ । यो गाउँ हामीले छोडेको गाउँ भन्दा धेरै टाढा पनि छैन । फेरि गाउँका सबै यहीं आएर बस्ने भएपछि हाम्रो परम्परा, संस्कृति र रीतिरिवाज पनि जोगिने भएकाले सबैलाई एकै ठाउँमा बस्न प्रस्ताव गरेको थिएँ । मेरो प्रस्ताव सबै गाउँलेले स्वीकारे ।
हामी अहिले धे खोलाको किनारमा सबैले स–साना घर बनाएर सामूहिक रूपमा बसोबास गरिरहेका छौं । जन्मघर छोडेर हिंड्नु पर्दाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । त्यही भएर मैले गाउँ छोड्नु पहिले सबै घरका मान्छेलाई बोलाएर बैठक गरें । तीमध्ये केही पहिले नै गाउँ छोडेर हिंडेका, अरू ठाउँमा बसेका पनि थिए । गाउँ छोडे पनि हाम्रो संस्कृति, परम्परा र रीतिरिवाज जोगाउन सबै एक ठाउँमा बस्न तयार भए । हाम्रो पुर्खाले जोगाएको परम्परा जोगाउनु थियो ।
हामी छरपस्ट भए त हाम्रो संस्कृति, रीतिरिवाज पनि हराउँछ भन्ने सोच दिमागमा आयो । त्यही भएर मैले गाउँ छोड्नु अघि सबैलाई बोलाएँ । बोलाएको बैठकमा २६ घरका घरमूली आए । मैले सामूहिक बसाइँसराइको प्रस्ताव राखेपछि उनीहरूले ताली बजाएर स्वीकार गरे । एकले अर्कोलाई खादा लगाएर निर्णयको स्वागत गरे । त्यसपछि उपभोक्ता समूह गठन गरेर सामूहिक रूपमा बसोबास गरिरहेका छौं । यहाँ अरू खेती केही हुँदैन । हामीले स्याउ रोपेका छौं ।
केही वर्ष पहिले स्याउ पनि हुँदैनथ्यो । अहिले उचाइमा भए पनि स्याउ फल्न थालेको छ । बरु पहिले स्याउ फुल्ने ठाउँमा अहिले फल्दैन । अन्नपूर्ण क्षेत्र संरक्षण परियोजनाले स्याउका बिरुवा दिएर सहयोग गरेको थियो । पछि अरू बिरुवा पनि रोप्यौं । अहिले स्याउ फलेर बिक्री गर्न सकिने अवस्थामा हामी छौं । स्याउ खेती सामूहिक र व्यक्तिगत पनि छ । हामीले यो बस्तीमा पहिलेदेखि नै चलिआएको सामूहिक खेतीपातीको चलनलाई निरन्तरता दिएका छौं । यसलाई सामूहिक बस्तीकोे रूपमा विकास गर्न चाहन्छौं । यहाँ आएर बसे पनि हाम्रो बस्तीको लालपुर्जा छैन । जग्गा हाम्रो नाममा दर्ता भएको छैन ।
हामीले बहुमूल्य पुख्र्यौली जग्गा पहिले नै गुमाइसकेका छौं । त्यही भएर अब हामी जलवायु परिवर्तनले बनाएका शरणार्थी हौं । सरकारले हामी बसेको ठाउँको लालपुर्जा देओस् भन्ने हाम्रो पहिलो माग हो । नभए त हामीलाई यहाँबाट जसले जतिबेला पनि धपाउन सक्छ । हाम्रो कुरा सबै सरकारी र गैरसरकारी कार्यालयमा पुर्याइसकेका छौं । मैले त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि यूएनडीपी र विश्व वन्यजन्तु कोष लगायतका सबै संघसंस्थालाई लालपुर्जाको लागि अनुरोध गरें ।
अहिलेसम्म कहीं कतैबाट सुनुवाइ भएको छैन । पानीको हिसाबले यो बस्ती पहिलेको पुख्र्यौली बस्ती भन्दा राम्रो छ । अहिलेसम्म पानीको दुःख छैन । तर हामी यहाँ कतिन्जेल बस्न सक्छौं केही टुङ्गो छैन । यो दामोदर कुण्डबाट हिमनदी पग्लेर आउने धे खोलाको किनार हो । जलवायु परिवर्तनका कारण होला यो बस्तीमाथि रहेका हिमतालहरूको आकार ठूल्ठूलो भइरहेको छ । यो ठाउँमा पनि पहिले भन्दा गर्मी भइरहेको छ । भोलि हिमताल फुटेर बस्ती बगाउन पनि सक्छ ।
त्यस्तो भएको अवस्थामा माथिको गाउँमा जस्तै धे खोलाको पानी सुक्न पनि सक्छ । अनि हामीले पिउने पानी कहाँबाट ल्याउने १ बाढीबाट बच्न स्थानीय निकायको सहयोगमा तटबन्ध त लगाएका छौं तर ढुक्क हुने अवस्था छैन । तटबन्धले बाढी रोक्न नसके त हाम्रो गाउँ पनि बगाउँछ । हिउँ पग्लेको बेला यहाँ बस्न पनि डरलाग्दो हुन्छ । मैले पढे–लेखेको छैन । यो के भएको हो भनेर पढे–लेखेका मान्छेले भन्न सक्छन् होला । तर मेरो विचारमा जलवायु परिवर्तनकै कारण नै हामी बसाइँ सर्न बाध्य भएका हौं ।
पुख्र्यौली गाउँमा खानेपानीका मुहान सुके । पानी नभएपछि बसाइँ सरेका हौं । यदि कसैले यो जलवायु परिवर्तन होइन भन्छ भने एक पटक यो ठाउँमा आएर आफैं बसेर अनुभव गरेर जानुहोला भन्न चाहन्छु । हामी मात्र होइन तल–तल गाउँका आधा जस्तो मानिस बसाइँ सरेर सजिलो ठाउँमा पुगिसकेका छन् । पानीको मुहान सुकेका छन् । खेतीपाती हुन छाड्यो । त्यो के भएको हो बताइदिनु पर्याे ?