• आश्विन १८ २०८१, शुक्रबार

अमेरिकामा हेलेन आँधीबाट ज्यान गुमाउने २०० नाघे

आश्विन १८ २०८१, शुक्रबार

१८ असोज, काठमाडौं । अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति र्पुयाएको छ । बीबीसीका अनुसार ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । आँधीमा परेका थप नागरिकहरूको अमेरिकी उद्धारकर्मीहरूले खोजी गरिरहेका छन् । आँधीका कारण ज्यान गुमाउने धेरै नागरिक नर्थ क्यारोलिनाका रहेका छन् । सन् २००५ मा आएको क्याट्रिना नामको तुफानपछि हेलेन अत्यधिक घातक आँधी साबित भएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् । क्याट्रिना आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो । हेलेन आँधीले आएको एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै बेपत्ता छन् र करिब ८ लाख घरहरूमा अझै पनि बिजुली अवरुद्ध छ ।

नर्थ क्यारिलोनामा दशौं हजार मानिस पानीको सुविधाबाट पनि बञ्चित भएका छन् । समाचार संस्था एपीका अनुसार सयौं सडकहरू बन्द छन् जसले गर्दा सहायता सामग्री पठाउन पनि अप्ठ्यारो भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन् । प्रभावित क्षेत्रको अवलोकनपछि बाइडेनले प्रभावितहरूसँग भने, ‘मैले तपाईंहरूलाई देखिरहेको छु, सुनिरहेको छु र म शोकमा सँगै छ । साथै म प्रतिज्ञा गर्छु कि हामी तपाईंको साथमा छौं ।’