• आश्विन १८ २०८१, शुक्रबार

मध्यपूर्वमा रुसको सकृयता, रुसी विदेश मन्त्रीले भने,‘पश्चिमाहरुले अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउनु पर्छ

आश्विन १८ २०८१, शुक्रबार

काबुल । रूसका विदेश मन्त्री सर्गेइ लाभारोभले पश्चिमा देशहरूलाई तालिबान नेतृत्वको अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाई देशमा पुनर्निर्माण प्रयासको ‘जिम्मेवारी’ लिन शुक्रबार आह्वान गरेका छन् ।

अफगानिस्तान दुई दशकभन्दा बढी समयदेखि पश्चिमी प्रतिबन्धको अधीनमा रहेको छ । हालको तालिबान सरकार तथा मध्यपूर्व र मध्य एसियाका छिमेकी देशहरूका दूतहरू संलग्न रहेको अफगानिस्तानमा रुसको नेतृत्वमा भएको वार्षिक कूटनीतिक मञ्चको उद्घाटन समारोहमा लाभारोभले यस्तो बताएका हुन् ।

सन् २०२१ मा सत्तामा तालिबान फर्किएसँगै युद्धग्रस्त अफगानिस्तानबाट अमेरिकी सेना भागेपछि रुसले तालिबानसँगको सम्बन्धलाई बढावा दिएको छ । सोभियत सङ्घले सन् १९८० को दशकमा एक दशक लामो युद्ध लड्ने क्रममा मुजाहिद्दीन प्रतिरोध लडाकूहरूको उदय भएको थियो । तीमध्ये धेरै तालिबान नेता बने ।

विभिन्न रुसी अधिकारीहरूले तालिबानलाई ‘आतङ्कवादी र चरमपन्थी सङ्गठनहरू’ को कालोसूचीबाट हटाउन आह्वान गरेका छन् ।
रूसको एफएसबी सुरक्षा एजेन्सीका प्रमुख अलेक्जेन्डर बोर्टनिकोभले शुक्रबार अफगानिस्तानको विशेष सेवाहरूसँग ‘पारस्परिक रूपमा फाइदाजनक’ सहयोग हेर्न चाहेको बताएको सरकारी समाचार एजेन्सीहरूले जनाएका छन् ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकी वार्ताका लागि मस्को गएका थिए । यसै क्रममा रूसले अफगानिस्तानमा कुनै पनि बहानामा सैन्य आधार राख्ने वा छिमेकी देशहरूमा नयाँ सैन्य सुविधाहरू स्थापनालाई स्वीकार नगर्ने पनि लाभारोभले बताए ।