• आश्विन १८ २०८१, शुक्रबार

एभरेष्ट वुमन्स भलिबल लिगको फाइनल पुग्ने होडमा चार टोली

आश्विन १८ २०८१, शुक्रबार

१८ असोज, काठमाडौं । नेपाली भलिबलको पहिलो फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ मा आज लिग चरणको अन्तिम खेलहरु हुँदैछ । आज हुने अन्तिम ३ खेलपछि फाइनल पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ । फ्रेन्चाइज लिगको विशेषता अनुसार नै पहिलो पटक आयोजना भएको यस लिगका खेलहरु निकै प्रतिस्पर्धात्मक बन्दा फाइनल पुग्ने टोलीको टुङ्गो पनि अन्तिम दिन नै लाग्ने भएको हो । इन्फिनिटी ड्रिम्सको आयोजनमा भइरहेको वात्सल्य एभरेष्ट वुमन्स भलिबल लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

जसमा कर्णाली यस्विस एक्लो अपराजित टोलीको रुपमा छ र फाइनलको निकै नजिक छ । तर अंकगणितीय रुपमा कर्णाली अझै पनि फाइनल भने पुगेको छैन । कर्णालीलाई कम्तीमा पनि १ अंकको आवश्यकता छ । कर्णालीसँगै फाइनल पुग्ने होडमा काठमाडौं स्पाइकर्स, चितवन शक्ति र ललितपुर क्विन्स छन् । बाँकी दुई टोली गण्डकी थण्डर्स र मधेश युनाइटेड फाइनल होडबाट बाहिरिसकेका छन् । सिंगल राउण्ड रोविनमा सञ्चालन भइरहेको लिगमा लिग चरणको खेल सकिएपछि अंक तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् । त्यही शीर्ष दुईमा पुग्नका लागि अहिले निकै प्रतिस्पर्धा चलिरहेको छ र यसले उत्तिकै रोमाञ्चकता पनि थपिरहेको छ ।