• आश्विन १८ २०८१, शुक्रबार

जलवायु परिवर्तनले बस्तीविहीन हुँदै हिमाली र पहाडी गाउँ

आश्विन १८ २०८१, शुक्रबार

पानी अभावमा पुख्र्यौली बस्ती छोड्न बाध्य नेपालका जलवायु शरणार्थीको संख्या यकिन गर्न सजिलो छैन । तर, यो संख्या हरेक वर्ष बढिरहेको छ । उच्च हिमाली र पहाडी क्षेत्रका कैयौं गाउँ बस्तीविहीन हुँदै जाँदा त्यहाँ बाँदर र बँदेलको राज छ । १८ असोज, काठमाडौं । सोलुखुम्बुको सुन्दर हिमाली थामे गाउँ १ साउन २०८१ मा बाढीले एकनिमेषमै बगायो । तेन्जिङ नोर्गे, आङरिता र कामीरिता लगायतका कीर्तिमानी हिमाल आरोही शेर्पाको पुख्र्यौली थामे गाउँ हेर्दाहेर्दै बगरमा परिणत होला भन्ने कसैले सोचेको थिएन । एउटा पर्यटकीय गाउँ खण्डहर भयो । राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार, बाढीले करिब ३,८०० मिटर उचाइमा रहेको थामे गाउँका १३ घर पूर्ण रूपमा क्षतिग्रस्त छन् । १० घर र दुई होटलमा आंशिक क्षति पुगेको छ ।

झोलुङ्गे पुल बगाएको छ । तेन्जिङ नोर्गे शेर्पासँग पहिलो पटक सगरमाथा आरोहण गरेका न्यूजिल्याण्डका नागरिक एडमण्ड हिलारीको सहयोगमा बनेको हिलारी स्कूल पनि बाढीले भत्कायो । गाउँमा बनाइएका स्वास्थ्य चौकी र जलविद्युत् आयोजना क्षतिग्रस्त भए । दिउँसो गाउँको माथिल्लो भागमा चौंरी चराउन गएका गोठालाहरूले तल्लो तटीय क्षेत्रमा रहेका गाउँलेलाई समयमै हिमताल फुटेको जानकारी दिएकाले कुनै मानवीय क्षति भएन । पर्यटकीय सिजन नभएकाले गाउँलेहरू काठमाडौं झरिसकेका थिए । गाउँमा भएकाहरू पनि हल्लाखल्ला पछि बेलैमा सुरक्षित स्थानतर्फ भाग्न सफल भए । त्यसैले मानवीय क्षति भएन । तर, एकैछिनको बाढीले करिब चार दर्जन घरधुरी बसोबास गर्दै आएको गाउँ तहसनहस बनाइदियो । गाउँ भन्दा माथि करिब ४,८०० मिटर उचाइमा रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेर आएको बाढीका कारण थामे गाउँ बगरमा परिणत भएको प्राधिकरणको अध्ययनले देखाएको छ ।

थामेको बाढीले पुर्याएको क्षति

हिमताल फुटेकै आसपासमा रहेका थप तीन हिमताल कुनै पनि बेला फुट्ने जोखिममा रहेकाले थामेमा विपद्को जोखिम कायमै रहेको प्राधिकरणले जनाएको छ । अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानसम्म फैलिएको ३,५०० किलोमिटर भन्दा लामो हिन्दु कुश हिमाल पर्वतमालामा रहेका मध्ये ४७ वटा हिमताल कुनै पनि बेला फुट्ने अवस्थामा रहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ । जोखिमयुक्त मानिएका तीमध्ये २१ वटा हिमताल नेपालमा पहिचान भएका छन् । बाँकी २५ वटा जोखिमपूर्ण हिमताल चीनको स्वशासित क्षेत्र तिब्बतमा र एउटा भारतमा रहेको इसिमोड र यूएनडीपी नेपालले गरेको अध्ययनमा उल्लेख छ । प्राधिकरणका वरिष्ठ मौसमविद् राजेन्द्र शर्माका अनुसार, जोखिमयुक्त भनेर पहिचान भएका २१ सहित नेपालको हिमाली क्षेत्रमा ३ हजार ६२४ हिमताल छन् ।

नेपालका बाहेक चिनियाँ स्वशासित क्षेत्र तिब्बतमा रहेका कतिपय हिमताल विस्फोट भएमा त्यसको असर भौगोलिक बनावटका कारण नेपालमा पर्ने भएकाले दक्षिणी सीमा क्षेत्रमा रहेका नेपाली बस्ती र पूर्वाधार झन् ठूलो जोखिममा छन् । कारणः यसअघि हिमताल विस्फोट हुँदाको असर नेपाली बस्तीमा परिसकेको छ । अझ डरलाग्दो तथ्य त के छ भने हिमालय क्षेत्रको विषयमा जानकार नेपाली अधिकारीहरूका अनुसार, चीनले ‘सुरक्षाको कारण देखाएर’ त्यस क्षेत्रमा रहेका जोखिमपूर्ण तालको बारेमा नेपाललाई समयमै सूचना दिइरहेको छैन । हिमतालको आकार र संख्याबारे निरन्तर अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरूका अनुसार, हिमताल विस्फोट र जलवायु परिवर्तनको जोखिम निरन्तर बढ्दो छ । यसबाट कल्पना गरेभन्दा धेरै नोक्सान हुनसक्ने उनीहरूको चेतावनी छ । त्यसको प्रत्यक्ष असर थामेका ४५ घरपरिवार जस्तै हिमाली र पहाडी क्षेत्रमा बसोबास गरिरहेका बासिन्दामा सबैभन्दा धेरै पर्नेछ । जलवायु परिवर्तनका कारण उनीहरूको जीविकोपार्जन र बसाइमा असर परिसकेको छ ।