• मंसिर १४ २०८१, शुक्रबार

दोहोरिंदै डेंगु संक्रमण, हुनसक्छ ज्यानकै जोखिम

आश्विन १८ २०८१, शुक्रबार

१७ असोज, काठमाडौं । टेकु अस्पतालको १२९ नम्बर बेडमा डिबी तितोङ दायाँ–बायाँ छट्पटिंदै पल्टिरहेका छन् । उठेर टुसुक्क बस्ने तागत पनि छैन । टाउको फुट्ला झै गरी दुखिरहेको छ । ‘यसपटक त बाँच्दिन जस्तो लागेको थियो,’ खुइय सुस्केरा हाल्दै उनले भने, ‘अलिकति तलमाथि भए डेंगुले त ज्यानै लिने रहेछ ।’ ४० वर्षीय तितोङले गत आइतबार बिहान अलि बढी थाकेको महसुस गरे । ज्वरो आयो, टाउको दुख्न सुरू भयो । शरीर पनि कटकट दुख्न थाल्यो । आँखागेडी फुट्ला झै भयो । उनले ठाने, ‘मौसमी ज्वरो हुनसक्छ ।’ आइतबार दिउँसो घरेलु उपचार गरे । रातभरको पीडा असह्य थियो । सोमबार बिहान ४ बजे टेकुको आकस्मिक कक्षमा पुगे। परीक्षणको क्रममा डेंगु भएको पुष्टि भयो । चिकित्सकले उपचारका लागि कुनै एन्टिबायोटिक औषधि नहुने भन्दै घरमै आराम नै गर्न सुझाव दिए ।

उनी चिकित्सकको सल्लाह बमोजिम घरमै गएर आराम गर्ने सोचले सोमबार दिउँसो २ बजे आकस्मिक कक्षबाट डिस्चार्ज भए । साँझ झन हन्हनी ज्वरो बढ्यो । बारम्बार बान्ता हुनथाल्यो । उनको मन आत्तियो । बेलुका ८ बजे पुनः टेकु अस्पताल पुगे र भर्ना भए । ‘खप्न नसकिने गरी शरीर दुखेको थियो । अब त मरिन्छ झै लाग्यो’ तितोङले पीडा सुनाए, ‘तीन दिनको उपचारपछि यत्तिको बोल्न सक्ने भएको छु ।’उनी बल्खुमा तरकारी व्यवसाय गर्छन् । गत शनिबारको बाढीले तरकारी बजार डुबानमा र्पयो । त्यसदिन सामान खोज्न उनी दिनभर घाममा खटिए । त्यतिबेला लामखुट्टेले टाकेको हुनसक्ने उनको शंका छ । उनको स्वास्थ्यमा जटिलता देखिनुको अर्को कारण हो, ‘दोहोरिएर डेंगु संक्रमण ।’करिब चार वर्ष अगाडि पनि उनलाई डेंगु संक्रमण भएको थियो । त्यसबेला लक्षण सामान्य थियो । घरमै आराम गरेका थिए । ‘त्यतिबेला सामान्य थियो । अस्पताल आउनुपरेको थिएन’ उनी भन्छन्, ‘यसले त जस्तोसुकै बलियो मान्छेलाई पनि गलाउने रहेछ । यसपटक मृत्यु नजिक पुगे ।’