• आश्विन १८ २०८१, शुक्रबार

इनरुवाका बाढी पीडितको गुनासो : पाँच दिनदेखि भुजा खाएर बस्न बाध्य छौं

आश्विन १८ २०८१, शुक्रबार

१८ असोज, सुनसरी । जिल्ला सदरमुकाम इनरुवा–९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो। बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन। विस्थापित भएको कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँसमेत छैन । आँगनमा हिलो हुँदा खाना पकाउन समस्या छ । अहिलेसम्ममा यहाँका पीडित परिवारलाई कतैबाट सहयोग प्राप्त नभएको पीडित सत्रुघन खत्वेले बताए । बाढीका कारण बबियामा खत्वे टोलका मात्र करिब ४० घरपरिवार प्रभावित छन् । सुनसरी खोलामा आएको बाढीले इनरुवा– ४ र ९ मा असर पुर्याएको छ । घरमा हिलो र बाहिर पानी भएकाले दिसापिसाब गर्नसमेत समस्या भएको स्थानीय कुमारी खत्वेको भनाइ छ । बाढीपीडित पाँच दिनदेखि एक छाक भुजा खाएर बस्न बाध्य भएको विस्थापित अनुशा मरिकले बताइन् । उनले भनिन,

‘ हामी पाँचदिनेदेखि एक छाक खाएर बाँचेका छौं। पीडितका लागि न गाँस छ न बाँस छ । तीन तहको सरकार कोहीले पनि सहयोग गरिरहेको छैन। हामी अब के खाएर बाँच्ने ? कहाँ बस्ने ? केही थाहा छैन ।’वडा कार्यालयले पीडितका लागि भुजा च्युरा सहयोग गरेको इनरुवा– ( का अध्यक्ष वसिरमुद्धिन मन्सुरीले जानकारी दिए । गत साताको अविरल वर्षासँगैको बाढीले घर डुबानमा परेका खत्वे, मरिक र सदा सुकुम्बासीको आठ परिवार सबैभन्दा बढी समस्यामा छन् । मजदुरी गरेर खाने उनीहरु बाढीपछि काम नपाउँदा भोकभोकै बस्न बाध्य भएको कुमारीदेवी खत्वेले बताइन् । पीडितको गुनासो सुन्न कोही नआएको र विद्यालयमा बस्दै आएको पीडित बताउँछन् । तीनै तहको सरकारले पीडितलाई गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरुको गुनासो छ ।

पीडित परिवारलाई दुई दिनअघि मात्र राहत सामग्री वितरण गरेको र कोही भोकभोकै बस्नु नपरेको इनरुवा–४ का वडाध्यक्ष बौवालाल मेहताले दाबी गरे । पीडितलाई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल भइरहेको उनले बताए । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्रका बाढीपीडितलाई वडाबाट राहत सामग्री वितरण भएको बताए ।