• मंसिर १४ २०८१, शुक्रबार

दुई छोरी हत्या अभियोगमा महिला पुर्पक्षका लागि थुनामा

आश्विन १७ २०८१, बिहीबार

१७ असोज, विराटनगर । दुई नाबालक छोरीको हत्या आरोपमा पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१  वर्षीया  अस्मिता पौडेल –कार्की) जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मंगलबार अस्मितालाई थुनामा पठाउन आदेश भएको हो ।

विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको आरोपमा प्रहरीले १९ भदौमा उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो । निर्माणाधीन घरमा पानी नलगाएको विषयमा श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि १४ भदौमा छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर उनी घरबाट हिडेकी थिइन् । भोलिपल्ट सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा दुई छोरी मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा विष खुवाएर उनीहरुको हत्या गरेको देखिएको थियो ।