काठमाडौं । दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको बताइएको छ ।
पिङटुङ काउन्टी सरकारले आगलागीस्थलबाट उद्धार गरिएका छ जना पुरुष र दुई जना महिला गरी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।
स्थानीय दमकल विभागले बिहान ७ः४१ बजे अन्ताइ तियान-शेङ मेमोरियल अस्पतालको एक भवनबाट बाक्लो धुवाँ निस्केको जानकारी पाएको जनाएको छ ।
अस्पतालका अवैतनिक डीन सु चिङ-चुआनले यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतालको भवनको मेशिन कक्षमा एयर कम्प्रेसर जलाइएका कारण आगलागी भएको र अधिकांश पीडितहरू अस्पतालमा भर्ना भएका वृद्ध बिरामीहरू रहेको बताएका थिए ।
घटनास्थलमा रहेका उद्धारकर्मीले स्थानीय सञ्चारमाध्यमलाई आगो नियन्त्रणमा आइसकेको बताएका छन् ।