• मंसिर ११ २०८१, मंगलवार

आजदेखि बडादशैं सुरु,घटस्थापनाको साइत ९:१६ बजे

आश्विन १७ २०८१, बिहीबार

काठमाडौं ।   आजदेखि यस वर्षको बडादशैं सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ।

दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ।  जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

आज घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ।

आज विधिपूर्वक घरघरमा पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ।

असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ।