• आश्विन १९ २०८१, शनिबार

मकवानपुरबाट दुई गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

आश्विन १६ २०८१, बुधबार

१६ असोज, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि पाँच दिन अगाडि नै पुगेका इन्द्रसरोवर–३ दाप्राङ घर भएकी सुकिमाया वाइवा र इन्द्रसरोवर–३ सानुटार बस्ने शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको पुडासैनीले बताए ।

‘उहाँहरू मध्ये एक जना पाँच दिन अगाडि र अर्का एक जना ४ दिन अगाडि स्वास्थ्यचौकीमा आउनु भएको रहेछ । सुत्केरी हुने समय नाघिसकेको तर सुत्केरी हुन नसकेपछि थप घट्ना नहोस भने तत्कालै हेलिकप्टरबाट उद्धार गरेका हौं, अध्यक्ष पुडासैनीले भने ।

उनले रक्षा मन्त्रालयमार्फत हेलिकप्टरबाट उद्दार गर्न तीन दिन अघिदेखि नै प्रयास गरिरहे पनि आज सफल भएको बताए । ‘पहिला रक्षा मन्त्रालयमार्फत् उद्धारक प्रयास गरेका थियौं । गाउँपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा लिखित अनुरोध गरेपछि सेनाको हेलिकप्टरबाट उद्धार हुन सफल भएको छ’,उनले भने ।

व्र्षाका कारण इन्द्रसरोवर गाउँपालिका जोड्ने सबै सडकमार्ग अवरुद्ध रहेको छ । वर्षाले कुलेखानी जलविद्युत केन्द्र भरिएपछि शनिबार बिहान जलाशयको दुई वटा ढोका खोलेर पानी छोड्दा कुलेखानी खोलामा आएको बाढीले सिस्नेरी सडक सञ्जालको सम्पर्कबाट टुटेको छ ।

सडक नै खोलाले बगाएपछि गर्भवतीलाई थप उपचारका लागि सडक सञ्जालबाट अस्पताल लान सकिएको थिएन । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा फुटबल सिक्दै आएका ६ जना बालकको शनिबार बिहान पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

पहिरोमा पुरिएर मृत्यु भएका छ बालकको शवसहित त्यहाँ अध्ययनरत ३४ जना विद्यार्थीलाई शनिबार साँझ सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।