काठमाडौं । आज पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्ष (सोह्रश्राद्ध) को असोज कृष्ण औँसी अर्थात् आज विधिवत् समापन हुँदैछ ।
आज काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लागेको छ ।
पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध भनिन्छ ।
कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने चलन छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडादशैँ सुरु हुँदैछ ।
पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भन्ने हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख छ ।
सोह्रश्राद्धमा श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ ।