• आश्विन १५ २०८१, मंगलवार

बाढी पहिरो पीडितलाई सहयोग गर्न दलहरूले घोषणा गरे रकम

आश्विन १५ २०८१, मंगलवार

काठमाडौँ । प्राकृतिक विपतमा सहयोग गर्न भन्दै दलहरूले विपतमा राहत रकम घोषणा गरेका छन् । सत्तासाझेदार दल मात्र होइन प्रमुख प्रतिपक्ष दलले समेत सहयोग घोषणा रकम घोषणा गरेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले बैठकले ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार सरकारको राहत कोषमा सांसदहरूको १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यता‚ सत्तासझेदार दल नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सरकारको राहत कोषमा उक्त रकम जम्मा गर्ने कांग्रेसले बताएको छ ।

कांग्रेसले हरेक सांसदबाट १५ दिनको तलब बापत रकम सहित पार्टीबाट आन्तरिक सङ्कलन गरेर पचास लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको पार्टी प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । यस्तै उसको भातृ संस्था नेपाल विद्यार्थी संघले पनि ७११ भन्दा बढी केन्द्रीय सदस्यबाट जनही पाँच सयको रुपैयाँले रकम सङ्कलन गर्ने निर्णय गर्दै सर्कुलर जारी गरेको छ ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारको राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । माओवादीले भने सङ्घ र प्रदेश सांसदहरूको १0 दिनको पारिश्रमिक बापतको रकम सङ्कलन गरेर राहत कोषमा जम्मा आइतबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो ।यता‚ रास्वपाले भने रकम जम्मा गर्ने कुनै तयारी नगरेको बताएको छ ।

बिहीबारदेखि परेको पानीका कारण गएको बाढी पहिरोमा परि हालसम्म २१७ जनाको निधन भइसकेको छ भने १४३ जनाभन्दा बढी घाइते भएका छन् ।