• मंसिर १४ २०८१, शुक्रबार

नागढुंगा–झ्याप्लेखोला सड्कमा आज ११ बजेदेखि १ बजेसम्म सवारी चलाउन रोक, एकतर्फी यातायात सुचारु गर्ने प्रयास जारी

आश्विन १५ २०८१, मंगलवार

काठमाडौँ । काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सड्क खण्डमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले सो सड्क खण्डमा एकतर्फी मात्रै सवारी चलिरहेका छन् ।
मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बाटोमा भएको पहिरो पन्छाउन लागिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । उनले भने, ‘पहिरो पन्छाएर दुईतर्फी नै सड्क सञ्चालनका लागि दुई घण्टा सवारी साधन चलाउन रोक लगाइएको हो ।’

धुनिवेशी नगरपालिका स्थित झ्याप्लेखोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए ।

३ वटा सवारी साधन पुरिएको ठाउँमा प्रहरीले प्राथमिकताका आधारमा एकतर्फी सवारी सञ्चालन गरिरहेको छ । एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिएर सञ्चालन गरिएको एसपी सुवेदीले बताए । उनले भने, ‘काठमाडौँ भित्रिने र बाहिरिने एम्बुलेन्स, यात्रुवाहक सवारी र खाद्यान्न बोकेका सवारी सधानलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेका छौँ ।’

बामगती प्रदेश प्रहरी कार्यालयले सो क्षेत्रमा सवारी व्यवस्थापन गर्न एसपी सुवेदीको नेतृत्वमा टोली परिचालन गरेको छ ।