• आश्विन १४ २०८१, सोमबार

अमेरिकामा ममता काफ्ले बेपत्ता प्रकरण : के गर्दैछ प्रहरी ?

आश्विन १४ २०८१, सोमबार

मनसास पार्क । अमेरिकामा दुई महिनादेखि बेपत्ता रहेकी नेपाली नर्स ममता काफ्ले भट्टको खोजी कार्य जारी रहेको छ । बेपत्ता भएकी ममताको सम्मान र स्मृतिमा शुक्रवार राति उनका समर्थकहरू मनसास पार्क प्रहरी विभाग बाहिर भेला भएका थिए ।

‘उनी मायाको प्रतीक थिइन् । उसको नाम ममतामै माया छ र उ आफ्नो नाम जस्तै थिई । उनी सबैलाई दिदी बहिनीले जस्तै माया गर्थिन्, सबैको केयर गर्थिन् ।’ ममताकी निकट मित्र सुनिता बस्नेतले भनिन् ।

प्रहरी विभाग अगाडि जम्मा भएका सबैका हातमा मैनबत्ती थियो । यसक्रममा सबैले आफ्नो स्मृति शेयर गरेका थिए । गत हप्ता अदालतमा निकै दुःखद समाचार पाएको र त्यसपछि सबैजना एकै ठाउँमा भेला हुनुपर्ने महसुस भएको होली विर्थले भनिन् ।
ममतालाई प्रहरीले अझै पनि बेपत्ताकै सूचीमा राखेको छ । अगस्ट २२ मा उनको श्रीमानलाई शव लुकाएको आरोपमा पक्राउ गरिएको थियो । अहिले पनि नरेश हिरासतमै छन् । प्रहरीले धरौटीमा उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।

गएको हप्ता नरेशको धरौटीसम्बन्धी सुनवाइका क्रममा अभियोजनकर्ताहरूले थप प्रमाण पेस गरेका थिए । ममता, नरेश र यी दुईका सानी छोरी बस्ने घरभित्र ठुलो परिमाणमा रगत भेटिएको उनीहरूको भनाई थियो ।

घरबाट लास अन्यत्र लगिएको प्रमाण पनि भेटिएको बताइएको थियो । नरेश हातमा पञ्जा लगाएर आसपासको छिमेकमा फोहोरका झोला फ्याक्न गएको भिडियोहरू अदालतमा पेस गरिएको थियो । त्यसपछि लगत्तै नरेशले आफ्नो टेस्ला कार बेचेका थिए ।

यी सबै घटनाक्रमलाई हेरेर न्यायाधीशले उनी भाग्न सक्ने र समुदायको लागि समेत खतरनाक हुनसक्ने भन्दै उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरेका थिए । अभियोजनकर्ताहरूले अदालतमा अगस्ट २ मा प्रहरी र नरेशबिच भएको कुराकानीको भिडियो पनि सार्वजनिक गरेका थिए ।

शुक्रवार खुलासा भएका कुराहरूले ममतासँग के भएको रहेछ र किन भनेर संसारलाई सोच्न बाध्य बनाएको पनि मनसास पार्क प्रहरी प्रमुख मारियो लुगोले भने । यस घटनामा आफूहरूले थप लिड खोजिरहेको र नरेश कहाँ कहाँ गएका थिए भनेर खोज्ने काम पनि भइरहेको लुगोको भनाई थियो ।