• आश्विन १३ २०८१, आईतवार

कोशीमा बाढी पहिरो : १८ जनाको मृत्यु, पहाडी जिल्ला जोड्ने सडक अवरुद्ध

आश्विन १३ २०८१, आईतवार

१३ असोज, विराटनगर । अविरल वर्षासँगै आएको बाढी,पहिरोका कारण कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । बाढी पहिरोका कारण पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए । उनका अनुसार धनकुटस्थित तमोर नदीमा दुई जनाको शव भेटिएको छ । तर, उनीहरुको पहिचान खुलेको छैन ।

बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता भएको र उनीहरुको खोजी जारी छ। बाढी पहिरोका कारण ६४ वटा पशुचौपाया मरेका छन् । १९ वटा पक्की घर भत्किएको छ, ५८ वटा घरमा आंशिक क्षति पुगेको छ । ५४२ परिवार विस्थापित भएका छन् । बाढी र पहिरोका कारण तराइका जिल्ला जोड्ने सडक र पुलमा क्षति पुगेको छ । प्रहरीका अनुसार मेची राजमार्गमा पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको छ ।

फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका ७ जोड्ने हेवाखोलाको पुल बाढीले बगाएका कारण ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको हो । शनिबार बाढीले मेची राजमार्गको बेलिब्रिज बगाएको थियो । बाढीले उदयपुरसँग खोटाङ जोड्ने सडक पनि अवरुद्ध भएको छ । सुनकोशी नदीले पक्कीपुल बगाउँदा उदयपुर र खोटाङको सडक सम्पर्क पनि विच्छेद भएको हो । उदयपुरको रौतामाई नगरपालिका– ५ र खोटाङको खेटेहाङ गाउँपालिका– ७ जोडने पक्की पुल सुनकोशीले शनिबार बगाएको थियो।

सिद्धचरणलोक मार्ग अन्तरगतको ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ । प्रदेशमा बाढीले १४ वटा झोलुङ्गे पुल, ९ वटा पक्की पुल र ३ वटा काठेपुलमा क्षति पुर्याएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।