• आश्विन १३ २०८१, आईतवार

विपद्बाट मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो

आश्विन १३ २०८१, आईतवार

बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १ सय ९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकको उद्दारका लागि दुई दिनदेखि हवाई उद्दार गरिरहेको छ ।

विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरू परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । प्रभावित क्षेत्रमा नागरिकको उद्दार, राहत तथा घाइतेहरूको उपचारका लागि अस्पताल र्पुयाउने लगायतका कार्यमा सुरक्षाकर्मीहरू सक्रिय भएर लागि परेका मन्त्रालयले जनाएको छ ।