• आश्विन १३ २०८१, आईतवार

इरानलाई इजरायली प्रधानमन्त्रीको चेतावनीः हामी जहाँसुकै पसेर आक्रमण गर्न सक्छौँ

आश्विन १३ २०८१, आईतवार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई चेतावनी दिँदै आफ्नो देश जहाँसुकै पसेर आक्रमण गर्न सक्षम रहेको बताएका छन् । समाचार संस्था टाइम्स अफ इजरायलका अनुसार, हिजबुल्लाहका महासचिव हसन नसरल्लाह मारिएको घटनामा इरानलाई धेरै उत्तेजित नहुन चेतावनी दिँदै नेतान्याहुले यस्तो बताएका हुन् ।

हिजबुल्लाह इरानले नै स्थापना गरेको लेबनानी राजनीतिक–सशस्त्र संगठन हो भने नसरल्लाह इरानका विश्वासपात्र मानिन्थे । हिजबुल्लाहको गोप्य भनिएको कार्यालयमा युद्धक विमानबाट इजरायलले गरेको आक्रमणमा नसरल्लाह मारिएका थिए । त्यसपछि समेत इजरायलले युद्धक विमानमार्फत आक्रमण जारी राखेको छ ।

इरानसँग पनि इजरायलको दुश्मनी छ । केही महिनाअघि दुई देशबीच तनाव बढेको थियो । यसअघि इरानकै राजधानी तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्या र अहिले आफूले हुर्काएको समूहका प्रमुख मारिएको घटनाले इरानलाई समेत विक्षिप्त बनाएको बताइन्छ । यस्तोमा निहुँ खोज्ने आए इरानमा समेत आक्रमण गर्न सक्ने आशयमा इजरायली प्रधानमन्त्रीले चेतावनी दिएका हुन् ।