• आश्विन १३ २०८१, आईतवार

राजमार्ग भद्रगोल हुँदा हवाई उडानमा अत्यधिक चाप, टिकट पाउनै मुस्किल

आश्विन १३ २०८१, आईतवार

१३ असोज, काठमाडौं । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ । वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका कारण नयाँ यात्रुले टिकट पाउनै मुस्किल देखिएको छ ।

‘आज असाध्यै धेरै टिकटको माग आएको छ,’ यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भन्छन्, ‘पहिला नै टिकट काटेका यात्रु र नयाँ यात्रुको व्यवस्थापन मिलाउनै हम्मे परेको छ ।’ आज सबै गन्तव्यमा जहाज पूर्णक्षमतामा उडेको भन्दै यसले त्रिभुवन विमानस्थल व्यवस्थापनमा समेत चाप परेको उनले बताए ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान संख्या बढाएका छन् । यसले विमानस्थलमा उडानको व्यवस्थापन मिलाउन चाप भएको हो ।

कम्पनीहरूका अनुसार आज मौसम राम्रो भए रात्रिकालीन उडान गरेर भए पनि धेरै यात्रुलाई काठमाडौं ल्याउने र बाहिर लैजाने योजना छ । ‘यात्रुले आज धैर्य गरिए भने भोलिसम्म धेरै यात्रुलाई हामी व्यवस्थापन गरिसक्छौं,’ यती बर्तौलाले भने ।

झापा लगायत गन्तव्यबाट विदेश जानुपर्ने यात्रुले जहाज चार्टर्डको समेत माग गरेको वायुसेवा कम्पनीले जनाएका छन् । बुद्ध एयरका अनुसार आज सबै विमानस्थलमा नियमित उडान भइरहेको छ ।

यसअघि टिकट काटेका बाहेक अतिरिक्त टिकट व्यवस्थापनमा समस्या छ । काठमाडौं जोड्ने सबै राजमार्ग अव?द्ध छन् । यसको असर हवाई उडानमा देखिएको हो ।