• आश्विन ९ २०८१, बुधबार

भारी वर्षा हुनसक्ने भन्दै काटिसकेको धान तत्काल भित्याउन माइकिङ गर्दै अनुरोध

आश्विन ९ २०८१, बुधबार

९ असोज, दाङ । मौसमविदले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि पालिकाहरुले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेका छन् । यदि नकाटेको भए तत्काल नकाट्न पनि पालिकाहरुले अनुरोध गरेका छन् ।

यो सूचना प्रवाहका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडामा माइकिङ गर्दै आएको छ । माइकिङका लागि नगर प्रहरी परिचालन गरिएको छ ।

नगर प्रहरीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भारी वर्षा हुने उल्लेख भएकाले सुरक्षित रहन र काटिसकेको भए धानबाली भित्राइहाल्न अनुरोध गरेको देखिन्छ ।

यसैगरी दाङको गढवा गाउँपालिकाले पनि सूचना जारी गरी काटिसकेको धानबाली भित्राउन र काट्न बाँकी भएको भए तत्काल नकाट्न किसानहरुलाई अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते बेलुका ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १२ गतेसम्म मनसुन सक्रिय हुँदा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

महाशाखाका मौसमविद्का अनुसार अरब सागर र बंगालको खाडीको जलवाष्पयुक्त वायु नेपालतर्फ आइरहेकाले देशभर वर्षाको सम्भावना रहेको बताएका छन् । केही स्थानमा अति भारी वर्षासमेत हुने महाशाखाको प्रक्षेपण छ ।