• आश्विन ८ २०८१, मंगलवार

झापामा ८० हजार घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्ष

आश्विन ८ २०८१, मंगलवार

८ असोज, झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् ।

घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए ।

पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ परेका हुन् । अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमणिको नियन्त्रणमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमणिका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिँदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए । उनले प्रहरीको क्षेत्राधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिएको बताए ।