इन्टरनेसनल लिग अफ सोसलिस्ट युथ, इल्सीको तीनदिने समर क्याम्प फर सोसलिस्ट युथ २०२४ सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा आयोजित क्याम्पमा नेपालको समसामयिक सामाजिक तथा राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन, भूराजनीति र विज्ञान तथा प्रविधिको विकाससँगै युवाको भूमिकाबारे १५ वटा सत्रहरू सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट सहभागी भएका ७० जना युवाहरूले यस कार्यक्रममा सहभागिता जनाएका थिए । विभिन्न विधामा अध्ययनरत युवाहरूले विभिन्न विषयमा छलफल र अन्तरक्रिया गरेका छन् ।
कार्यक्रममा नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, राजनीतिज्ञ अनिल सी, अर्थ राजनितिक विश्लेषक हरि रोका, भौतिकशास्त्री प्राडा दीपक प्रसाद सुवेदी, नेपाल चीन सम्बन्धका जानकार डा लिला न्याइच्याई, संविधानविद् डा चन्द्रकान्त ज्ञवाली, काभ्रे जिल्ला समन्वय समिति संयोजक दिपक गौतम, मोटिभेश्नल स्पिकर नरबहादुर कार्की, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, संचारिका समूहका अध्यक्ष, विमला तुमखेवा, इन्जिनियर डा राम लामा, कृषि क्षेत्रका जानकार प्रमेश पोखरेल, सहायक प्राध्यापक विर्जेश मिश्र, शिक्षाविद् डा चन्द्रप्रसाद लुइँटेललगायतका वक्ताहरू रहेका थिए ।
कार्यक्रममा इल्सीका अध्यक्ष सुवोध सेर्पालीले अध्यक्षता गर्दै कार्यक्रमको औचित्य र उपलब्धिबारे सहभागीहरूलाई जानकारी गराएका थिए भने सेक्रेटरी माधव पन्तले इल्सीको गठन प्रक्रिया, यसका उदेश्यहरू र अन्तराष्ट्रिय ऐक्यवद्वताको विषयमा प्रस्तुति दिएका थिए ।
समर क्याम्पले युवाहरूलाई प्रगतिशील चेतको निर्माण गर्दै वैचारिक संवाद गर्ने, र नयाँ दृष्टिकोणहरू निर्माण गर्ने वातावरण निर्माण गर्ने विश्वास आयोजकको छ । कार्यक्रममा राष्ट्रिय र अन्तराष्ट्रिय समाजवादी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, यसको आजको सन्दर्भमा र भविष्यमा खेल्नसक्ने भूमिकाको विषयमा अन्तरक्रिया गरिएको छ ।
१५ वटा सत्रमा संगठनका सदस्यहरू सुदिप शर्मा, प्रकाश सी, नरेन्द्र सी, सुवित ढुंगाना, नवराज ऐर, प्रेमा लामा र सावित्री केसीले सहजीकरण गरेका थिए । समाजवादी स्कूलमा सहभागी युवाहरूलाई इल्सीको तर्फबाट प्रमाणपत्र वितरण गरिएको छ ।