• मंसिर १४ २०८१, शुक्रबार

दशैंतिहार अग्रिम बस टिकट बुकिङ असोज १२ गतेदेखि खुला

आश्विन ६ २०८१, आईतवार

काठमाडौं । दशैंतिहारका लागि अग्रिम बस टिकटको बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ ।

बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको र अब एक-दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेपछि अग्रिम टिकट खुला हुने जानकारी दिए ।