• आश्विन ५ २०८१, शनिबार

दाँतका ४१ मध्ये १५ जना हड्डीतिर दाँत गाभिएका विरामी

आश्विन ५ २०८१, शनिबार

घोराही ५ असोज । मुख तथा अनुहार शल्यचिकित्सक डा. निरोज खनालले साउनदेखि यो समाचार तयार पार्दासम्म ४१ जनाको उपचार गर्नुभयो । त्यसमा सबैभन्दा बढि बुद्धिबंगारा मुखतिर नआई हड्डितिर गएका विरामी थिए । त्यसरी अन्तैतिर गइरहेका बुद्धिबंगारालाई शल्यकृया गरेर निकाली फालियो ।

‘बुद्धिबंगारा माथि उम्रेन भने गालातिर, मुटुतिर, घाँटीतिर जाने खतरा रहन्छ’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. खनालले भन्नुभयो, ‘गाला सुन्निने, घाँटी सुन्निने, सिष्ट हुने, ट्यूमर हुनेदेखि मृत्यु हुनेसम्मको खतरा रहन्छ ।’ उहाँका अनुसार दाँतको उपचार सहनै नसकिने भयो भने मात्रै उपचार गरिन्छ । समय समयमा जाँच गराउने र सामान्य असरमा पनि अस्पताल जाने चलन छैन ।

यसैगरी गाला च्यातचुत भएको मिलाएका विरामी आठ जना छन् । दुर्घटनामा परेका, जनावरले चिथोरेका, लडाई झगडा पर्दा लाछिएका वा च्यातिएका विरामीका गाला मिलाउन उपचार शुरु भएको डा. खनालको भनाई छ । उहाँका अनुसार अनुहार र गालाको जटिल समस्या पनि समाधान हुन्छ । गत जेठमा प्रतिष्ठानमा आउनु भए देखि नै सेवागर्दै आउनुभएको छ । कुनैपनि कारणले अनुहार तथा गालामा आएका सबै समस्या समाधान गर्ने विधि छ । प्रकृति हेरेर अनुहारको हड्डी भाँचिएकोलाई प्लेट लगाउने वा के गर्ने अवस्था हेरेर सेवा गरिन्छ ।

यसैगरी क्यान्सका शंका लागेका सात जना विरामीलाई डाइग्नोसिस गरिएको छ । मुखमा घाउ हुँदा वा अन्य कारणले क्यान्सरको खतरा देखिन्छ । ‘दाँत भर्ने, दाँत सफा गर्ने मात्रै भन्ने गरीन्छ’ डा. खनालले भन्नुभयो, ‘आफ्नो मुुखमा जटिल किसिमका समस्या आएको बारे धेरै जनाको ध्यानै छैन ।’ उहाँका अनुसार जिब्रोमा मासु पलाएको, ट्युमर भएको, जस्ता समस्या हुन्छन् । क्यान्सरको शंका लागेमा मासु तानेर वा सुईबाट तानेर डाइग्नोसिस गरिंदै आइएको छ ।

यसैगरी सिष्ट गरिएका विरामी पाँच जना छन् । उनीहरुको मुख, गिँजा तथा गालाबाट सिष्ट (पानी जमेको) निकालिएको हो । दुर्घटनाका क्रममा मुखमा घाउ चोट लागेको च्यातिएकोलाई मिलाइदिने गरिन्छ । हड्डी भाँचिएको भएपनि एक्सरे गरेर अवस्था हेरी जटिल तथा सामान्य अप्रेसन गरी टुक्रा निकाल्ने वा प्लेट हाल्ने सेवा दिइन्छ । मुख तथा अनुहारबाट सिष्ट वा ट्युमोर निकाल्ने गरिन्छ । दाँतको असरले गर्दा अनुहार, घाँटी सुनिएको अवस्था हेरिन्छ । जटिल समस्या देखियो भने व्यहोस गराउने विधिबाट अप्रेसन गरिन्छ । सामान्य समस्या रहेछ भने गाला वा अन्य ठाउँको समस्या हेरी निदाउने गराएर अप्रेसन गरीने उहाँको भनाई छ ।

यसैगरी मुखको जोर्नीमा समस्या भएका विरामी दुईजनालाई उपचार गरिएको छ । उहाँका अनुसार दुर्घटनामा परि जोर्नीमा समस्या आएर मुख बन्द भएका एकजना विरामीको उपचार गरिएको थियो । त्यसरी दुर्घटनाका क्रममा जोर्नीमा समस्या आई मुख नखुलेको व्यक्तिको मुख खुलाइएको छ । कतिपय बालबालिकाको पनि मुख नखुल्ने समस्या भएका हुन्छन् । उनीहरुको आँ आँ गर्न मिल्ने गरी मुख खोल्ने उपचार सेवा पनि प्रतिष्ठानमा शुरु भएको डा. खनालले जानकारी दिनुभयो । मुखका जोर्नीमा समस्या आएपछि आँ गरेर मुख खोल्न नसक्ने समस्या आउन सक्छ ।

यसैगरी चिउँडो र थुतुनो नमिलेकोलाई पनि मिलाउन सकिन्छ । कसैको चिउँडो बेस्सरी उच्चिएको त कसैको भास्सिएको हुन्छ । सर्जरी गरेर ओठ र चिउँडो सुहाउँदिलो बनाउन सकिने डा. खनालले बताउनुभयो । उहाँका अनुसार चिउँडो र मुख नमिल्दा असुहाउँदीलो देखिन्छ । त्यसलाई सर्जरी गरेर मिलाउन सकिन्छ । चिउँडो तल माथि बनाउने वा बंगारा अघि पछि पार्ने हुन्छ ।

दैनिक ५०–६० जना दाँतका विरामी प्रतिष्ठानमा पुग्ने गरेको डा. खनालले जानकारी दिनुभयो । त्यसमध्ये पाँच, ६ जना मुख तथा अनुहार शल्यचिकित्सा सम्बन्धी जटिल समस्याका विरामी हुन्छन् । स्वाथ्य विज्ञान प्रतिष्ठान धरानबाट जेठमा आउनु भएका खनालका अनुसार पहिलो पटक अनुहार तथा मुख सम्बन्धी विशेषज्ञ उपचार सेवा सुरु भएको छ । अब लेजर मेसिनबाट घाउ र खटिरा तथा अन्य समस्याको उपचार हुन्छ । ब्लेडले गराउनु पर्दैन । विकसित प्रविधि लेजर आइसकेको छ । सुविधा लिन सकिने सबैलाई जानकारी छैन ।