• आश्विन ५ २०८१, शनिबार

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

आश्विन ५ २०८१, शनिबार

कैलाली, ५ असोज । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु.नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका रु.नौ लाख एघार हजार एक सय १० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार धनगढीबाट करिब रु.पाँच लाख पाँच हजार सात सय ८० बराबरको किराना सामान, तामा पित्तलका भाँडा, मिठाइ, प्याज र प्लास्टिक तथा भजनीबाट रु. दुई लाख ३० हजार मूल्य बराबरको प्याज, मोटरसाइकल र चिनी बरामद गरिएको छ ।

टीकापुरबाट रु. एक लाख ३२ हजार सात सय ३० बराबरको किरानाका सामान, प्लास्टिकका खेलौँना, शृङ्गारका सामान, चिनी र प्याज, गोदावरीबाट रु.२६ हजार छ सय बराबरको कपडा र कैलारी गाउँपालिकाबाट रु. १६ हजार बराबरको बोइलर कुखुरा बरामद गरिएको उनले जानकारी दिए ।

बरामद गरिएका अवैध मालसामानसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।