• आश्विन ५ २०८१, शनिबार

श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचन,राष्ट्रपतिको दौडमा को को छन् ?

आश्विन ५ २०८१, शनिबार

काठमाडौं । श्रीलङ्कामा आज राष्ट्रपती निर्वाचनका लागि मतदान भइरहेको छ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो ।

स्थानीय समय अनुसार बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म देशभरका १३ हजार १३४ मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको दौडमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित जनाथा विमुक्‍ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायक, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसा, राजापक्षे परिवारका श्रीलंका पोडूजना पेरामुना पार्टीका नमल राजापक्षे, पिपुल्स स्ट्रगल एलाइन्सका नुवान बोपेज प्रमुख उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि १७ मिलियन मतदाता मतदानका लागि योग्य रहेको बताइएको छ । श्रीलङ्कामा १८ वर्ष पुगेर दर्ता गरेका नागरिकले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ ।

पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ ।

सुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ । सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ ।

तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शीर्ष दुई उम्मेदवार मध्ये एक जनालाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ ।

श्रीलङ्कामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था रहेको छ ।

श्रीलङ्कामा ठूलो विरोध प्रदर्शन भएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलङ्काको राष्ट्रपति बनेका थिए ।