• आश्विन ३ २०८१, बिहीबार

शालिकमा माल्यार्पण गरेर गणेशमानको २७औं स्मृति दिवस मनाइयो

आश्विन २ २०८१, बुधबार

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २७औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

सिंहका छोरासमेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । नागरिकलाई अधिकार सम्पन्न सिंहले १५ वर्षभन्दा लामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको सुनाए ।

‘नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालिन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौं,’ उपप्रधानमन्त्री सिंहले भने ।

१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अस्वीकार गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।