असोज २, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा इटालियन क्लब एसी मिलानलाई उसैको मैदानमा ३–१ ले स्तब्ध बनाएको छ ।
मंगलबार राति सान सिरोमा भएको खेलमा पाहुना टिम लिभरपुलाई जित दिलाउन इब्राहिम कोनाटे, भर्जिल भान डाइक र डोमिनिक सुबोस्लाईले समान एक गोल थपे । घरेलु टिमका क्रिस्टियन पुलिसिचले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।
खेलको तेस्रो मिनेटमा नै पुलिसिचले गोल गर्दै मिलानलाई अग्रतामा राखेका थिए । तर, मिलानको यो अग्रता लामो समय टिक्न सकेन । २३औँ मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । ४१औँ मिनेटमा भान डाइकले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
यस्तै, ६७औँ मिनेटमा सुबोस्लाईले गोल गर्दै लिभरपुलको अग्रतालाई ३–१ मा राखे । यसपछि दुवै टिमबाट गोल नहुँदा लिभरपुलले ३–१ को जितसहित तीन अंक सुनिश्चित गरेको हो ।
जितसँगै तीन अंक जोडेको लिभरपुल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोरेको मिलान तालिकाको ३३औँ स्थानमा छ । मंगलबार राति नै भएको अर्को खेलमा स्पेनिस क्लब रियाल मड्रिडले भीएफबी स्टुटगार्डविरुद्ध ३–१ को जित निकालेको छ ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियाललाई जित दिलाउन किलियन एमबाप्पे, एन्टोनियो रुडिडर र एन्ड्रिकले गोल गरे । पाहुना टिमका डेनिज उन्डभले गोल फर्काएका थिए । जितसँगै तीन अंक जोडेको रियाल तालिकाको पाँचौ स्थानमा छ । पराजित स्टुटगार्ड भने तालिकाको ३२औँ स्थानमा छ ।