असोज २, काठमाडौं । म्यानमारमा यागी तुफानका कारण आएको बाढीले जनजीवन अस्तव्यस्त भएको छ । म्यानमारको सैनिक सरकारले बाढीका कारण हालसम्म कम्तिमा २०० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । अझै ८० जनाभन्दा बढी हराइरहेका छन् ।
यागीका कारण यसवर्ष एसियाली देशहरूको जनजीवन प्रभावित भएको छ । यो तुफानका कारण भियतनाम, लाओस, थाइल्यान्ड तथा म्यानमारमा गरी ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
म्यानमारमा भने यागीका कारण बाढी तथा पहिरोले व्यापक जनधनको क्षति गरेको छ । कतिपय गाउँ डुवानमा परेका छन् । कयौँ क्षेत्रमा फैलिएको बालीनाली नष्ट भएको छ ।
संयुक्त राष्ट्रसंघले म्यानमारमा मात्र पाँच लाखभन्दा बढी मानिस प्रभावित भएको जनाएको छ । साथै प्रभावितहरूलाई खानपिन तथा लत्ताकपडा तत्काल आवश्यक रहेको पनि जनाएको छ । राष्ट्रसंघका अनुसार तुफानका कारण म्यानमारको राजधानीसहित अन्य ९ राज्यमा भयावह स्थिति सिर्जना भएको छ ।