• मंसिर १२ २०८१, बुधबार

सहकारी ठगीबारे रवि भन्छन् –प्रमाण होइन, प्रणाम छ भनिएको रहेछ !

आश्विन १ २०८१, मंगलवार

१ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भएको बताएका छन् । मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र गर्नमै समय कटाउने गरेकाले यो देशको समृद्धि हुन नसकेको बताए ।

आफूमाथि सहकारी प्रकरण उचालेर सिद्ध्याउन खोजे पनि त्यो असफल भएको भन्दै लामिछाने अव गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने बताए । ‘यो हल, उपस्थिति र यो भव्यता हाम्रा लागि अर्काे एउटा खतराको घण्टी हो ।

उनीहरूलाई लागेको थियो कि रास्वपा सकियो । तर रास्वपा त यस्तो भएर आएको छ अव यसको मूल्य हामीले तिर्नुपर्छ है साथी हो’, लामिछानेले भने, ‘म साथीहरूलाई भन्न चाहन्छु अव आरोप सहकारी ठगबाट गोरखा मिडियातिर सर्छ । ’

उनले प्रमाण कस्तो हुन्छ भन्ने कुरा आफ्नै केन्द्रीय नेताहरू बसेकोबाट थाहा हुन्छ होला नि भन्दै कांग्रेसतर्फ सङ्केत गरे । उनले सहकारीमा प्रमाण छ, प्रमाण छ भनेपनि प्रमाण नभएर प्रणाम छ भनेर भनेको रहेछ भनेर व्यङ्ग्य समेत गरे ।