• मंसिर ११ २०८१, मंगलवार

बालबालिकाको अधिकार एवं स्वास्थ्य

भाद्र ३० २०८१, आईतवार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिका कुल संख्याको ३९ दशमलव ८ प्रतिशत छन् । १० देखि १९ वर्ष समूहका बालबालिका तथा किशोर किशोरी २४ दशमलव २ प्रतिशत रहेको तथ्याङ्क छ । यीमध्ये कतिपय बालबालिका आधारभूत अधिकारबाट बञ्चित छन् । यसरी सम्बन्धित निकाय तथा मन्त्रालयबीच बालबालिका र किशोरकिशोरी सम्बन्धी कार्यक्रममा समन्वय तथा सहकार्य नहुँदा काममा दोहोरोपना तथा कतिपय काम नै नहुने समस्या छ ।

यसमा पनि बाल न्याय प्रणाली तथा बालमैत्री स्थानीय शासन पद्धतिलाई व्यवहारमा पूर्ण रूपमा उतार्न नसक्नु र बालिका तथा किशोरीमाथि हुने हिंसा एवं परम्परागत अव्यावहारिक प्रचलनलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसकिएको अवस्था छ । यद्यपि बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुनु, बालबालिकाको हकलाई मौलिक हकको रूपमा संवैधानिक प्रत्याभूति हुनु, बालअधिकारप्रति सचेतना वृद्धि हुनु, बालमैत्री स्थानीय निकायहरू घोषणा हुनु, सडक बालबालिकाको उद्धार हुनु, बाल हेल्प लाइन तथा बाल इजलास गठन हुनुलाई सकारात्मक सङ्केतको रूपमा लिन सकिन्छ ।

यसर्थ ५० प्रतिशत बालबालिका कडा तथा मध्यम खालको कुपोषणबाट पीडित छन् भने प्रत्येक एक हजार बालबालिकामध्ये १ सय ३३ जना बालबालिका ५ वर्ष पुग्नुअगावै कुपोषणबाट मृत्यु हुने गरको छ । यसरी हेर्ने हो भने जति जीवित छन् तीमध्ये ७० प्रतिशतभन्दा बढि बालबालिका प्रत्यक्ष–अप्रत्यक्षरुपमा मजदुरी पेशामा लागेका छन् । जुन बाल अधिकार सम्वन्धी महासन्धीले १८ वर्षमुनिका व्यक्तिलाई बालबालिका घोषित गरे पनि हाम्रो देशको कानूनले १६ वर्ष मुनिकालाई मात्र बालबालिका भनि परिभाषित गरको छ ।

हाम्रो देशमा कुल बालबालिका संख्याको ७० प्रतिशतभन्दा बढी बालबालिका प्रत्यक्ष वा अप्रत्यक्ष मजदुरी पेशामा लागेर आफ्नो जीविका गुजार्न बाध्य छन् । देशमा बालमजदुरी हुने क्षेत्रमा कृषि, गलैंचा, इटाभट्टा, चियाबगान, गार्मेन्ट, होटल, ठूल्ठूला व्यापारिकफर्म, भरिया, आदि छन् । यस्ता क्षेत्रमा मजदुरी गर्ने बालबालिकाले पनि दिनमा १० देखि १८ धण्टासम्म काम गर्नुपर्ने हुन्छ ।

त्यसमा बालकले भन्दा बालिकाले औषत ३ धण्टा बढी काम गर्नुपर्ने हुन्छ । यसमा पनि कामको अनुपातमा ज्याला कम दिनु, खर्तनाक क्षेत्रमा काम लगाइने, स्वास्थ्य सुविधा, ओभरटाइम भत्ता नदिने कारखाना वा निर्माण क्षेत्रको काम सकिएपछि, घरमा जुठा भाडा माझन वा लुगा धुन लगाउने कारणले बालबालिकाको स्वास्थ्यमा नराम्रो प्रभाव परेको पाइन्छ ।

विश्वमा सवै किसिमका मृत्यु मध्ये ६५ प्रतिशत मृत्यु पॉच वर्षमुनिका बालकको रहेको छ 

यसमा पनि एक वर्षको उमेर भित्रै यी शिशुहरुमा चार जनामा एक जना कलिलैमा कालको विकराल मुखभित्र पसिसकेको हुन्छ । तसर्थ यसको साथै अर्को हृदयविदारक घटना यो विश्वमा घटिरहेको हुन्छ । प्रत्येक वर्ष विश्वमा जन्मने दुई करोड दश लाख शिशुहरुमा दश लाख शिशुहरुले आफ्नो पहिलो जन्म दिवस मनाउन नपाउँदै स्वर्गीय बन्न पुग्छन् ।

अर्का पैतीस लाख शिशुले पॉच वर्ष पुग्न नपाउँदै विश्वबाट विदा लिन्छन् एवं अर्का पॉच लाख बालबालिका १८ वर्षको यौवन अवस्थामा पुग्दा नपुग्दै उनीहरुको पनि दुःखान्त भइसकेको हुन्छ । यसका कारणहरु के हुन त ? निर्धनता, अज्ञान र रोगको शिकार हुन पुगेका बालबालिकाको प्रारम्भिक अस्तित्वमै कुठाराघात हुनु अत्यन्त दुःखद विडम्वना रहेको छ ।

नेपाली बालबालिकाको समस्याका रूपमा गरिवी, शिक्षा र जनचेतनाको कमी, अभिभावकमा रोजगारीको कमी, ऐन कानून, प्रभावकारी रूपमा लागू हुन नसक्नु तथा परिवारिक हिंसा वा कम स्नेहको वातावरण हुनुलाई नै लिने गरिन्छ । तर सडक बालबालिकाहरु जसले जीवनको सवैभन्दा धेरै समय सडकमा विताएका छन् ।

उनीहरुको संख्या मात्र नेपालमा झण्डै ३६ हजारभन्दा बढी पुगेको अनुमान छ । उनीहरुले आफ्नो घरपरिवार त्यागी दिन प्रतिदिन शहरमा आई सडकमै जीवन बिताउने बालबालिकाको संख्या पनि बढिरहेको छ । यस कारण विश्व स्वास्थ्य संगठनको परिभाषाअनुरूप स्वस्थ रहनु भनेको केवल रोग नलाग्नु मात्र होइन, शारीरिक र मानसिकस्थिति राम्रो र हृष्टपुष्ट अवस्था रहनु एकातिर छ ।

विश्वमा लगभग २० करोडभन्दा भन्दा बढि बाल श्रममा कार्यरत रहेको अनुमानित तथ्याङ्क छ

त्यस्तै गरी विश्वमा करिव १० करोडभन्दा बढि केटाकेटीहरुले आधारभूत शिक्षा पाएका छैनन् र तिनीहरुमध्ये दुइतिहाइ बालिकाहरु छन् । अझ यो दयनीय अवस्था अविकसित तथा कम विकसित राष्ट्रहरुमा व्यापक छ । यसै अनुरुप प्रत्येक साल भुखमरी, कुपोषण र रोगबाट करिव १ करोड ३० लाख केटाकेटीहरु पॉचवर्ष नपुग्दै मर्दछन् ।

यो तथ्यलाई मध्यनजर राखि सार्क राष्ट्रले अझ बढि प्राथमिकता बालिकालाई दिएर सन् १९९० लाई बालिका वर्षको रुपमा मनायो । जसले गर्दा विकासशील राष्ट्रहरुले बालबालिकाको समुत्थानको लागि गोष्ठी, सेमिनार, भाषणमा मात्र सिमित नराखि ठोस उपलव्धिमूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने स्थिति खट्केको आभाष आउँछ ।

बालबालिका प्रकृतिका सुन्दर संरचना हुन्, आमाबाबुका सुनौला सपना हुन्, समाज र राष्ट्रका भविष्यको सम्वाहक पनि हुन् । बालबालिका बिनाको समाजको परिकल्पनासम्म गर्न सकिदैन । आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् । वास्तवमा भन्ने हो भने कुनै पनि देशको भविष्य उनीहरुको उमेरसंगै बढिरहेको हुन्छ ।

त्यसैले बालबालिका वा उनीहरुको समस्या कुनै एक व्यतिm वा विषयसंग मात्र सम्वन्धित नभई सवै क्षेत्र, वर्ग, समुदाय, पेशा, समाज र आममानिसको सरोकारको विषय हो । त्यसकारण सवै बालबालिकाहरुको भविष्य उनीहरुको उमेरसँगै बढिरहेको हुन्छ ।

हाम्रो देशमा गरिबी र शिक्षाको कमीले एउटा शिशु दुई वर्ष नपुग्दै अर्को शिशु जन्म हुन्छ 

आमाले बच्चा जन्माएको एक महिना नपुग्दै विहान बेलुकाको खोलेफॉडोमा चित्त बुझाउन, डोको बोकेर दाउरा खोज्न, पानी बोक्न वा खेत खन्न जान बाध्य हुन्छिन् । जसको कारणले गर्दा उनी, कुपोषित हुन्छिन् र आफ्नो सन्तानलाई उचित हेरचाह पोषणयुक्त खाना ख्याउन सक्दिनन् । बच्चा पनि कुपोषणबाट कमजोर बन्दै जान्छन् र केही मृत्युको सिकार बन्छन् र जति मृत्युको मुखबाट उम्कन्छन् तिनीहरुले आफ्नो कमजोर आमाको पेट भर्नका लागि पनि बाल्य अवस्थादेखि नै ज्याला मजदुर गर्न बाध्य हुन्छन् ।

अन्तमा भन्नुपर्दा गरिबीका कारण बाबुआमाले छोड्नु, बाबुआमाकै मृत्यु हुनुले बेसहारा हुनेजस्ता कारणले बालबालिका हराउने गरेको पाइएको छ । यसमा पनि देखासिकी र महत्वाकाङ्क्षाले आफंै भाग्नेदेखि नेपालमै घरेलु र अन्य काममा फकाएर लगाउनुले पनि बालबालिका बेपत्ता हुने गरेको पाइन्छ ।

अझ पछिल्लो समय त बालगृहहरू स्वंयं बालबालिका बिक्रिकार्यमा संलग्न हुने गरेका जस्ता डरलाग्दा प्रवृित्तसमेत देखिनु आफैंमा दुःखद् कुरा हो । त्यतिमात्र होइन, सर्कसमा खेलाउन, मृगौलालगायत अंग बेच्न, आर्केस्ट्रामा नचाउन, मगन्ते बनाउन र घरायसी काम गराउन भारततर्फ तस्करी हुने गरेका कारण पनि बालबालिका हराउने गरेका छन् । यसरी बालबालिकाको तस्करी हुनु अक्षम्य अपराध हो ।

यसरी अझ बालबालिकाको यस किसिमको तस्करी रोक्न नसक्नु सरकारी संयन्त्रहरूको नालायकीपन नै हो । यसको साथसाथै जबकि औसत आयु ७२ वर्ष रहेको छ । देशमा वार्षिक ६ लाख ३७ हजारको हाराहारीमा शिशु जन्मिने गरेको आँकडा अनुमान गरिएको छ । त्यसमध्ये हजारजनामा ३८ बालक ५ वर्षभन्दा कम उमेरमै मर्छन् ।

करिब २३ नवजात शिशुको मृत्यु एक वर्षभन्दा कम उमेरमा मृत्यु हुन्छ 

यसमा गर्भवती भएको सात महिनादेखि सुत्केरीका क्रममा भ्रुणको मृत्यु हुने दर २२ दशमलब ४ छ । यसर्थ हरेक बालबालिका हाम्रा लागि मात्र होइन, समाज तथा राष्ट्रका लागि महत्वपूर्ण हुन्छन् । प्रत्येक राष्ट्रको भविष्यका कर्णधार अर्थात् भोलिको देश निर्माता आजका बालबालिका नै हुन् । मुलुकको भविष्यका उत्तरदायी यिनीहरू नै हुन्छन् ।

यसकारण यिनीहरुप्रंर्तिको माया, ममता, पोषणयुक्त खाना खान पाउंनु र शान्ति सुरक्षभित्र रही समय सुहाउँदो शिक्षा पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार हो र उनीहरुका यी अधिकारको संरक्षण गर्नु आमावावु, समाज र राष्ट्रकै कर्तव्य हो । उनीहरुको बौद्धिक शारीरिक विकासका लागि विशेष हेरचाह र सुविधामा हुर्किन दिनुपर्छ ।

बालबालिका भनेको कॉचो माटो हुन् । उनीहरुको शारीरिक र मानसिक विकास ज्यादै छिटो हुन्छ । उनीहरुमा राम्रो नराम्रो कुराको कुनै ज्ञान हुँदैन । उनीहरुलाई जस्तो मार्गदर्शन दियो त्यसैमा लाग्न उत्प्रेरित हुन्छन् ।