• आश्विन २ २०८१, बुधबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातवटा अन्तर्राष्ट्रिय उडान

भाद्र २९ २०८१, शनिबार

भदौ २९, काठमाडौँ । अरबौँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०–८१) अनुसार दुई वर्ष पुग्नै लाग्दा जम्मा ७ वटा अन्तर्राष्ट्रिय उडान भएको पाइएको हो ।

चीन सरकारको २२ अर्ब सहुलियत ऋण अनुदानमा बनेको उक्त विमानस्थल आर्थिक वर्ष २०७९–८० पुस १७ गते उद्घाटन गरिएको थियो । दैनिक ६ वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्यका साथ उक्त विमानस्थल निर्माण गरिएको थियो ।

तर आर्थिक वर्ष २०७९–८० को पुसदेखि असार मसान्तसम्ममा २ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । गत आर्थिक वर्ष २०८०–८१ मा ५० अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखिएकोमा जम्मा पाँचवटा उडान भएका छन् ।

यस्तै गत आर्थिक वर्ष २०८०–८१ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५० उडान गर्ने लक्ष्य राखिएकोमा १२० उडान मात्र भएको प्रतिवेदनमा छ ।