• आश्विन २ २०८१, बुधबार

अमेरिकाले रुसी मिडियामा लगायो थप प्रतिबन्ध

भाद्र २९ २०८१, शनिबार

भदौ २९,अमेरिका । अमेरिकाले रुसी मिडिया च्यानल आरटी (रसिया टुडे) माथि नयाँ प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएको घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उक्त च्यानल रुसी खुफिया एजेन्सीको हिस्सा भएको आरोप लगाएका छन् ।

ब्लिङ्कनले पत्रकारहरूसँगको कुराकानीमा भनेका छन्– आरटी रुसी समर्थित मिडिया आउटलेट्सको नेटवर्कको हिस्सा हो । यसले खुफिया रूपमा अमेरिकामा लोकतन्त्र कमजोर पार्ने कोशिस गरिरहेको छ ।

‘रुसी सरकारले आरटीभित्र साइबर परिचालन क्षमता तथा रुसी खुफिया जानकारीसँग जोडिएको एक युनिट बनाएको छ,’ ब्लिङ्कनले प्रतिबन्धको कारणहरूबारे उल्लेख गरेको बीबीसीले समाचार प्रकाशित गरेको छ ।

अमेरिकी प्रतिबन्धपछि आरटीले पनि यसबारे प्रतिक्रिया दिएको छ । उक्त च्यानलले आफ्नो एक्स (ट्विटर) मा ब्लिङ्कनको टिप्पणी प्रशारण गरेको थियो । साथै यसलाई आरटीले नयाँ षड्यन्त्र भनेको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखरोवाले पनि अमेरिकी प्रतिबन्धबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले अमेरिका प्रतिबन्ध लगाउन ‘विशेषज्ञ’ बनेको टिप्पणी गरेका छन् । उनले भनेका छन्– प्रतिबन्ध लागू गर्न विशेषज्ञ बनेको अमेरिकासँग नयाँ काम हुनु जरुरी छ ।

अमेरिकाले चुनाव प्रभावित बनाएको आरोपमा आरटीका कर्मचारी र प्रधान सम्पादक मार्गरीटा सिमोनियनलाई यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । अमेरिकी विदेश मन्त्रालयले आरटीमाथि युरोप, अफ्रिका एवं उत्तर तथा दक्षिण अमेरिकी देशहरूमा सूचना संकलन, गोप्य प्रभाव तथा सैन्य खरिदमा संलग्न भएको आरोप लगाएको छ ।

ब्लिङ्कनले आरटीमाथि युक्रेनसँग युद्ध गरिरहेका रसियन सैनिकका लागि सैन्य उपकरण खरिदका लागि अनलाइन फण्ड चलाएको आरोप पनि लगाएका छन् ।