एमाले अहिले सत्तामा छ । सरकारको नेतृत्व गरिरहेको छ । यो सरकारको नेतृत्व दक्षिणी छिमेकी दिल्लीका लागि स्वीकार्य देखिदैन । प्रधानमन्त्री स्वयम् पनि भारत भ्रमण घोषणा गर्न सकिरहेका छैनन् । भारतले पनि मैत्रीभ्रमणका लागि आमन्त्रण गरिरहेको छैन ।
एमालेका लागि सत्तासिन हुँदाका बखत पहिलो सकस हो यो । नेपालजस्ता विकासशील देशका लागि छिमेकी देशसँगको शान्ति र मैत्री सम्बन्धले ठूलो असर गर्छ । यसलाई सरकारको सफलता र विफलतासँग जोडेर हेरिन्छ पनि ।
एमालेको दोस्रो सकस हो, अमेरिकी राष्ट्रपतीय निर्वाचन । यो निर्वाचन नोभम्बरमा सम्पन्न हुँदैछ । अङ्ग्रेजी ‘न्यु इयर’ सँगै नव निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्ने प्रचलन छ त्यहाँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र कमला ह्यारिसको प्रतिस्पर्धा छ, यस पालाको निर्वाचनमा ।
नयाँ राष्ट्रपति आउने बित्तिकै काँग्रेस–एमाले गठबन्धनमा समस्या आउने देखिन्छ । यो एमालेका लागि राम्रो हुने देखिदैन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीको हेलमेल हुने देखिन्छ । मोदीले ट्रम्पका लागि भोट मागिदिइसकेका छन् ।
तेस्रो एमाले आफैले राष्ट्रिय गठबन्धनको राजनीतिमा एकपछि अर्को गरी आफ्नै लागि सकस निम्त्याउँदै छ । त्यो हो, माओवादी सँगको फराक हुँदै गरेको दुरी । यो दुरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र उनका युवा नेताहरूको माओवादीसँगको अमैत्रीपूर्ण व्यवहारका कारण फराक हुँदै गएको हो ।
अहिले संसदमा ‘माओवादी हिंसा’ भन्ने शब्दले बखेडा खडा गरिरहेको छ । एमाले युवा नेता योगेश भट्टराईले ‘माओवादी हिंसा’ नभइदिएको भए देश विजुलीमा आत्मनिर्भर बनेर धेरै अघि पुगिसक्थ्यो भनी हल्ला मच्चाए । माओवादीले आपत्ति जनायो र संसदीय रेकर्डबाट हटाउन माग गर्यो पनि ।
तर आवश्यक विमर्शपछि यसबारेमा निर्णय लिइने भनेका सभामुखले त्यसपछिको बैठकमा यो ‘हिंसा’भन्ने शब्द असंसदीय नभएकाले हटाउन नपर्ने ठोकुवा गरिदिए । यो एमाले माओवादी काँग्रसको गठबन्धनमा दरार फराकिलो पार्न तेलको काम गरिरहेको छ ।
यस अघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेका थिए, ‘प्रचण्डजी फेरि प्रधानमन्त्री बनाउनु पर्ने बेला आउन सक्छ, धेरै टाढा नजानुहोला’ । एमालेले यसको हेक्का राखेकै हुनुपर्छ । साथै, प्रचण्ड प्रतिपक्षी दलको नेताको हैसियतले बोल्दा भनेका थिए, ‘तपाई कांग्रेस–एमाले दुई दल मिलिरहनु होला’ ।
यो एमालेका लागि गठबन्धन भित्रको समस्या हो । एमालेले दुःख पाउने भनेकै ‘तित्राको मुखै बैरी’ हुनु हो । यो पार्टीले आन्तरिक र बाह्य सकस पहिचान गरी बेलैमा बुद्धि पुर्याउनु बेश हुन्छ ।