• मंसिर १५ २०८१, शनिबार

रुसले चन्द्रमामा बनाउने परमाणु ऊर्जा केन्द्रमा भारत र चीनको रुचि

भाद्र २७ २०८१, बिहीबार

मस्को । रुसले चन्द्रमामा परमाणु ऊर्जा केन्द्र बनाउन खोजिरहेको छ । रुसको यो पहलमा भारतले पनि सहभागिता जनाउने इच्छा राखेको भन्दै फस्र्ट पोस्ट डट कमले समाचार छापेको छ ।
चन्द्रयान–३ को सफल प्रक्षेपणले हौसिएर भारतले सो परियोजनामा रुचि देखाएको बताइएको छ । रुसको यो परियोजनामा चीनले पनि सहकार्य गर्ने खबरहरू आइरहेका छन् ।

यो परियोजनाको नेतृत्व रुसी परमाणु कर्पोरेसन रोसातोमले गर्नेछ । यसको लक्ष्य चन्द्रामा आधा मेगावाट बिजुली उत्पादन गर्ने सानो परमाणु रियाक्टर स्थापना गर्ने हुनेछ । चन्द्रमामा भविष्यमा हुने परियोजनाहरूलाई टेवा दिन यो ऊर्जा केन्द्र बनाउन लागिएको हो ।
यो परियोजना सन् २०३५ सम्ममा सञ्चालनमा आउने आशा गरिएको छ । यही वर्ष भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो । भारतले सन् २०३५ सम्ममा आफ्नै स्पेस स्टेसन भारतीय अन्तरिक्ष स्टेसन (बीएएस) पनि बनाउन खोजिरहेको छ ।