• आश्विन १ २०८१, मंगलवार

सुनसरीमा गाडीमा लुकाइएको २३५ किलो गाँजा बरामद, चालक फरार

भाद्र २६ २०८१, बुधबार

भदौ २६, काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट २३५ किलो गाँजासहित एक गाडीलाई नियन्त्रणमा लिएको छ ।

बोर्डर आउट पोस्ट (बीओपी) लौकही र सुरक्षा बेस भुटाहाको टोलीले आज फूलचोकबाट दक्षिण सीमा इलाकातर्फ जाँदै गरेको बा ९ च ७१६६ नम्बरको गाडीमा लुकाएको अवस्थामा आठ बोरा गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीलाई देखेपछि चालकले गाडी भगाउन खोजेका थिए । त्यसक्रममा नजिकैको खेतमा फसेपछि उनी फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

यसअघि, सशस्त्र प्रहरीले मंगलबार बराहक्षेत्र नगरपालिका–६ स्थित सिसौलीघाटबाट करिब २४५ किलो गाँजा बरामद गरेको थियो ।