• आश्विन १ २०८१, मंगलवार

दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै, सहुलियत मूल्यमा बिक्री हुने

भाद्र २६ २०८१, बुधबार

२६ भदौ, काठमाडौँ । सरकाले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो ।

उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी तयारी गरिरहेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । अहिले नै कति मूल्यमा बिक्री गर्ने भन्नेबारे निर्णय नभएको र खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गरिने उनको भनाइ छ ।

गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि पछि भाउसमेत घटाइएको थियो । जसअनुसार खसीको २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङ्ग्राको २५ रुपैयाँ सहुलियत दिएर १२२५ रुपैयाँ कायम भएको थियो । यसैगरी गतवर्ष बोकाको भाउ पनि खसीकै बराबर थियो ।

यो वर्षपनि मूल्य निर्धारण गर्दा खसी र बोका दुबैको भाउ उस्तैउस्तै पर्न सक्ने बताइएको छ । कम्पनीले यसवर्ष खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो वर्ष भने गत वर्षको तुलनामा बजेट घटाइएको छ ।

अघिल्लो वर्ष खरिद गरिएका सबै च्याङ्ग्रा बिक्री नहुँदा ठुलो घाटा बेहोर्नु परेकाले यो वर्ष च्याङ्ग्राको परिमाण घटाइएको सुवेदीको भनाइ छ ।कम्पनीले गत वर्ष २ हजार वटा खसीबोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो । जसका लागि ८ करोड रुपैयाँ बराबर बजेट छुट्याइएको थियो ।

गत वर्ष ल्याइएका कुल च्याङ्ग्रामध्ये ४९५ वटा बिक्री भएका थिए भने ४७ च्याङ्ग्रा बाँकी थिए । तीमध्ये कुकुरको टोकाइबाट २५ च्याङ्ग्रा मरेका थिए भने बचेका २२ वटा च्याङ्ग्रा १ हजार १५ रुपैयाँ प्रतिकिलोका दरमा दसैँपछि बिक्री गरिएको थियो । च्याङ्ग्रा मुस्ताङबाट तथा खसीबोका हेटौँडा, दाङलगायतका ठाउँबाट ल्याइने बताइएको छ ।