• आश्विन २ २०८१, बुधबार

कलाकार पासवान र मुस्लिम समुदायमाथि हातपात गर्ने हिन्दु सम्राटका कार्यकर्तामाथि कारवाहीको माग

भाद्र २५ २०८१, मंगलवार

काठमाडौं । बारामा कलाकार प्रिती पासवानमाथि तथा मधेसका विभिन्न स्थानहरुमा मुस्लिम समुदायमाथि हिन्दु सम्राटका कार्यकर्ताले गरेको हातपात र दुर्व्यवहारप्रति ५ दलित संगठनहरुले कडा आपत्ति जनाएका छन् । संयुक्त प्रेस वक्तव्य जारी गर्दै ती संगठनहरुले यस्तो आपत्ति जनाएका हुन् । यसरी आपत्ति जनाउने संगठनहरुमा एकीकृत दलित मुक्ति मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र, संयुक्त मुस्लिम अधिकार मञ्च, नेपाल दलित मुक्ति अभियान र संयुक्त दलित अधिकार मञ्च नेपाल रहेका छन् ।

विज्ञप्तिमा उनीहरुले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थायी निवासी हाल वीरगञ्जको माइस्थान वडा नं. ९ मा डेरा गरि बस्ने कलाकार प्रिती पासवान कृष्ण अष्टमीको अवसरमा गहवामाइ मन्दिरमा पुजाआजाको लागि पुगेकी कलाकार पासवानमाथि र मधेशका विभिन्न जिल्लाहरुमा मुस्लिम समुदायमाथि हिन्दु सम्राट सेनाका केही उत्श्रृङ्खल युवा जत्थाद्धारा गरिएको हातपात एवम् दुर्व्यवहारको घटनाले हामी ५ राजनीतिक दलित मोर्चाको गम्भिर ध्यान आकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा उनीहरुले भनेका छन्,‘आजको नेपाली समाज हिन्दु वर्णाश्रम वा जात व्यवस्था सहितको दलाल संसदीय पूँजीवादी व्यवस्थामा आधारित समाज हो । यद्यपि नेपाली जनताको लामो, त्याग, संघर्ष एवंम् बलिदान पश्चात आज देश संघीय लोकतान्त्रिक गणतन्त्राक मुलुक भएता पनि आम उत्पीडनमा परेका जनताले गणतन्त्रको आभास गर्न सकिरहेका छैनन् । कहिले जात, कहिले धर्मका नाममा दलित, मुस्लिम र महिला माथि कुटपिट, बलात्कार, हत्या र हिंसाका घटनाहरुमा पीडित पक्षलाई न्याय दिनुको सट्टा उल्टै धाकधम्की दिने पीडितलाई झन पीडा दिने र जाहेरी लिन नमान्ने उक्त हर्कतले नेपाल सरकार मातहतका न्यायिक निकायहरु मौन बस्नुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको खिल्ली उडेको मात्र नभई कार्यान्वयनमा चुनौती एवंम् विधि र कानुनी शासन माथि गम्भिर प्रश्न खडा भएको छ ।’

विज्ञप्तिमा ‘मन्दिरमा पुजाआजा गर्न जाँदा प्रिती पासवानमाथि जुन ढङ्गले हातपात, दुर्व्यवहार र उनी बस्ने डेरामा गई तोडफोड गरिएकोले उनको जिउधनको रक्षाको निम्ति जिल्ला प्रहरी प्रशासन एवंम् गृह मन्त्रालयसँग दोषी उपर कडा भन्दा कडा कार्वाहीको लागि माग गर्दछौं । अन्यथा पासवानको न्याय र यस्ता घटनाको प्रतिरोध गर्न जुनसुकै प्रकारको आन्दोलन र सघर्षको निम्ति सम्पूणर् न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।