• आश्विन १ २०८१, मंगलवार

जुनारमा सुँडे मोथ पुतलीको प्रकोप, एउटा मारेको २ रुपैयाँ पुरस्कार

भाद्र २५ २०८१, मंगलवार

२५ भदौ, काठमाडौं । जुनार तथा सुन्तलाको फलमा सुँडे मोथ नामक पुतलीले क्षति र्पुयाउन थालेपछि सिन्धुलीको गोलन्जोर गाउँपालिकाले पुतली मार्नेलाई प्रतिवटा २ रुपैयाँ दिने घोषणा गरेको छ । यही वर्षदेखि प्रकोपकै रुपमा देखिएको सुँडे मोथ पुतली रोक्न कुनै उपाय नभएपछि गाउँपालिकाले आफैं मार्न प्रोत्साहन गर्न बाध्य हुनुपरेको गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताए । उनका अनुसार सुँडयुक्त उक्त पुतली साउन मध्यदेखि देखिन थालेको थियो । ‘अघिल्ला वर्षहरुमा यस्तो खालको प्रकोपकै रुपमा असर गरेको थिएन ।

यो वर्ष धेरै क्षति पु¥याउन थाल्यो’, अध्यक्ष बरालले अनलाइनखबरसँग भने, ‘धेरै विज्ञहरुसँग छलफल गर्दा पनि यो पुतली मार्न कुनै उपाय नभएपछि किसानलाई नै प्रोत्साहन गर्ने नीति लिएका हौं ।’अध्यक्ष बरालका अनुुसार सुँडे मोथ पुतली दिनको समयमा कतै सुरक्षित रुपमा बस्ने र राति जुनार, सुन्तलाको फलको रस चुस्न आउने गर्दछ । ‘यसले फल खाने भनेकै रातको समयमा रहेछ ।

रस चुसेको २ दिनभित्रै फल कुहिएर झरिहाल्ने रैछ’, उनले भने । पुतली प्रकोपकै रुपमा देखिन थालेपछि अहिले किसानहरु रातको समयमा बत्ती बालेर गस्ती नै बस्न थालेको अध्यक्ष बरालले बताए । उनले भने, ‘किसानहरुले आफैं स्वतःस्फूर्तमा रुपमा रातभर जाग्राम बसेर पनि पुतली मारिरहेका छन् । त्यसमा पालिकाले सहयोग गर्न लागेका हौं ।’गाउँपालिका प्रवक्ता रेगनराज थापाका अनुसार ४ वर्षअघिदेखि यो पुतली गाउँमा देखिन थालेको थियो । अघिल्ला वर्षमा केही औषधि प्रयोग गरे पनि प्रभाव नदेखिएको उनको भनाइ छ ।

‘यो वर्ष त झन् धेरै क्षति र्पुयाउन थाल्यो’, उनी भन्छन् । नेपालकै सबैभन्दा बढी जुनार उत्पादन गर्ने पालिकाका रुपमा चिनिन्छ । पालिका सरकारले घोषणा गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘जुनार सुपर जोन’ अन्तर्गत पर्दछ । अहिले पुतलीले रस चुसिदिँदा जुनार र सुन्तला सखाप हुने स्थिति आएको पालिका अध्यक्ष बराल बताउँछन् ।

पुतली रोकथामका लागि कुनै उपाय नभएपछि मार्ने अभियान थालिएको गाउँपालिकाले जनाएको छ । यसका लागि पालिकाले करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । ‘पुतली नै मारिदिएपछि अर्को संख्यामा केही कमी होला र अर्को वर्षतिर केही असर कम होला भन्ने अपेक्षा गरेका छौं’, उनले भने ।