• मंसिर १२ २०८१, बुधबार

उपसभामुखलाई देवेन्द्र पौडेलको ढाढस् : हामी छौं, ढुक्क हुनुहोला

भाद्र २५ २०८१, मंगलवार

२५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुख इन्दिरा रानालाई ह्यूमिलीएशन नगर्न सत्तारुढ दलका सांसदहरूलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले उपसभामुख राना पदबाट हटाउने भनेर अगाडि नबढ्न आग्रह गरे । यस्तो प्रयास भए प्रतिवाद गर्ने उनको चेतावनी छ । भिसाको विषय सदनसँग सम्बन्धित नरहेको उनले बताए ।

‘उपसभामुखज्युले भिसा प्राप्त गर्ने यो सदनको कुनै पनि सदस्यको स्वीकृति लिएर होइन । योभन्दा पहिला गएकाहरूले के के गर्नुभयो ? त्यो पनि हिसाबकिताब लिएर अगाडि बढ्नको निम्ति म अनुरोध गर्न चाहन्छु’ उनले भने । नैतिकताको प्रश्न उठाइएको भनेर हतोत्साहित नहुन उपसभामुख रानालाई सांसद पौडेलको आग्रह छ । ‘‘उहाँलाई नैतिकताको प्रश्न उठाएर, नैतिकताको विषय उठाएर ह्यूमिलिएशन गर्न खोज्ने ?

म उपसभामुखलाई भन्न चाहन्छु– हामी छौं तपाईंको साथमा, हामी प्रतिवाद गर्छौं, ढुक्क हुनुहोला ।’ सामाजिक क्षेत्रमा काम गरेको र एउटा जिम्मेवारी निर्वाह गर्छु भनेर आएको एउटा महिलालाई ह्यूमिलीएशन गर्न नहुने उनको आग्रह छ । उनले सत्तारुढ दलहरूलाई भनेका छन्, ‘‘ ह्यूमिलीएशन नगर्न र यस प्रकारका विषयमा हात हाल्न आग्रह गर्न चाहन्छु ।’ नैतिकताको विषय उठाउादा आफूतिर पनि हेर्न उनको आग्रह छ ।

‘प्रश्न उठेर राजीनामा दिने हो भने, दशौं मन्त्रीका प्रश्न उठेका छन् । राजीनामा दिन तयार हुनुहुन्छ ?’ उनले प्रश्न गरे, ‘लाउडामा प्रश्न उठ्यो, वाइडबडीमा प्रश्न उठ्यो, नक्कली भुटानी शरणार्थीमा प्रश्न उठ्यो, बालुवाटार प्रकरणमा प्रश्न उठ्यो । गिरिवन्धु टीस्टेटमा प्रश्न उठ्यो , राजीनामा दिन तयार हुनुहुन्छ ?’ लोकतन्त्र भनेको प्रतिपक्षीलाई समेत विश्वासमा लिएर जाने व्यवस्था रहेको उल्लेख गर्दै उनले यही रुपमा अगाडि बढ्न आवश्यक रहेको बताए ।

उपसभामुुखलाई पदबाट हटाउने प्रयासको विरोध गर्दै उनले दोर्होयाए, ‘यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन् । यसले सुदृढ लोकतन्त्र र सहकार्यको प्रणाली यो देशमा अगाडि बढ्न सक्दैन । त्यसकारण यसप्रकारका कुराहरु सरकारले गम्भीरतापूर्वक सुनोस, यदि हो भने त्यसो नगर्नको निम्ति हामी खबरदारी गर्न चाहन्छौं ।’