• आश्विन १ २०८१, मंगलवार

उपसभामुख रानालाई हटाउनेबारे सत्तारुढ दलमा छलफल

भाद्र २५ २०८१, मंगलवार

२५ भदौ, काठमाडौँ । सत्तारुढ दलको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषय उठेको बैठकमा सहभागी एक नेताले पुष्टि गरे ।

तर, हटाइहाल्ने कि कसरी अघि बढ्ने भन्नेबारे ठोस निर्णय भने नभएको ती नेताको भनाइ छ ।  ‘शीर्ष नेताको हिजोको बैठकमा उपसभामुखको कुरा सदनमा उठ्यो अनि सेलायो । के भएको भनेर एमालेका नेताहरुले जिज्ञासा राख्नुभएको हो’, कांग्रेसका ती नेताले भने, ‘हामीले यर्थाथ कुरा जानकारी गरायौँ । त्यसपश्चात् थप निर्णय भएन ।’

सो विषय प्रधानमन्त्री केपी ओलीले नै उठाएका थिए । ओलीले यो विषय उठाएपछि एमालेबाटै बैठकमा सहभागी अन्य नेताहरूले पनि रानालाई हटाउने विषयमा बढी जोड दिएका थिए ।

‘यो गम्भीर विषय हो । त्यसै छाड्नु हुन्न’, एमालेका नेताहरूको भनाइ उद्धृत गर्दै ती नेताले भने । यसबारे थप गृहकार्य गरेर निष्कर्षमा पुग्ने नेताहरूले बताएका छन् ।

रास्वपाबाट उपसभामुख बनेकी इन्दिराबारे प्रश्न उठेको र उनलाई हटाएर संवैधानिक परिषद्मा सत्तापक्षलाई बलियो बनाउने एमालेको रणनीति छ ।

संवैधानिक परिषदमा निर्णय गर्न बहुमत सदस्य चाहिन्छ । जसअनुसार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

तर सत्ता समीकरणअनुसार प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा रहनेछन् । यसो हुँदा दुवैतिर ५०–५० प्रतिशत हुने र निर्णय गर्न कठिन हुने भन्दै एमालेले उपसभामुखलाई निशाना बनाउन खोजेको देखिन्छ ।