भदौ २५, गाजा । इजरायलले गाजा पट्टीमा फेरि आक्रमण गरेको छ । उक्त इजरायली आक्रमणमा परी कम्तिमा ४० जनाको मृत्यु भएको हमासले सञ्चालन गरेको प्रशासनले जनाएको छ ।
हमासले सञ्चालन गरेको सिभिल डिफेन्स प्रशासनले मानवीय सहायताका लागि निर्धारण गरिएको क्षेत्रमा इजरायलले आक्रमण गरेको जनाएको छ । जसमा परी केही व्यक्तिहरू घाइते भएको पनि जनाएको छ ।
उता इजरायलले पनि आफूहरूले आक्रमण गरेको स्वीकार गरेको छ । इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ–हमासका लडाकुले सञ्चालन गरेको केन्द्रमा आक्रमण गरिएको हो । यो अभियानमा नागरिकहरूलाई क्षतिबाट बचाउने उपायहरूको अवलम्बन गरिएको थियो ।
स्थानीयहरूले भने अल मवासी क्षेत्रमा विस्थापितहरू बस्दै आएको टेन्टमा तीन आक्रमण भएको थियो । जसका कारण त्यहाँ ठूलो खाल्डोसमेत बनेको छ । अल मवासी खान युनुको पश्चिममा रहेको बसोबास रहेको क्षेत्र हो ।
हमासका सिभिल डिफेन्स अपरेसन्स डाइरेक्टरले बीबीसीसँग भनेका छन् –४० जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । त्यस्तै केही मानिसहरू भग्नावशेसमुनि पुरिएका छन् ।
गत वर्ष अक्टोबरमा इजरायलले हमासविरुद्ध सैन्य अभियान सुरु गरेको थियो । त्यसयता हजारौँ विस्थापित प्यालिस्टिनीहरू खान युनुस क्षेत्रमा गएका थिए । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सैन्य अभियानमा अहिलेसम्म ४० हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेकको जनाएको छ ।